काठमाण्डौ, शंखरापुर नगरपालिकाका ४ वडाका अध्यक्षहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय जनताको जायज मागलाई सम्बोधन गर्न सरकारसँग अपिल गरेका छन्।
वडाध्यक्षहरू रणबहादुर थिङ (वडा नं २), सूर्य बहादुर तामाङ (वडा नं ३), सुना बहादुर तामाङ (वडा नं ४), र पोते थिङ (वडा नं ८) ले विज्ञप्तिमा बोझिनी क्षेत्रका स्थानीयमाथि भइरहेको प्रशासनिक दमनप्रति गम्भीर आपत्ति जनाएका छन्।
वडा अध्यहरुद्वारा हस्ताक्षरित संयुक्त जारी विज्ञप्तिमा भनिएको छ, “शंखरापुर नगरपालिका वडा नं ३ स्थित बोझिनी क्षेत्रमा चाँगुनारायण सवस्टेशन आयोजनाको निर्माण कार्यको क्रममा स्थानीय जनताको मागलाई बेवास्ता गर्दै दमन, धरपकड र थुनामा राख्ने जस्ता अमानवीय क्रियाकलापहरू भइरहेका छन्। लोकतन्त्रमा जनताको आवाजलाई सम्मान गर्नु सरकारको कर्तव्य हो। तर यहाँ बल प्रयोग गरी डर र त्रासको वातावरण सिर्जना गरिएको छ, जुन अस्वीकार्य छ।”
वडाध्यक्षहरूले विगत पाँच वर्षदेखि स्थानीयले शान्तिपूर्ण रूपमा उठाउँदै आएका मागहरू बेवास्ता गरिएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले जनताको माग पूरा नगरे आफूहरू जिम्मेवारी स्थगित गरी जनताको पक्षमा आन्दोलनमा होमिने बताएका छन्।
संयुक्त विज्ञप्तिका चार मुख्य मागहरू:
१. आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार तत्काल गरियोस्।
२. धरपकडमा परेका स्थानीय बासिन्दाहरूलाई बिना शर्त रिहा गरियोस्।
३. वार्तामार्फत स्थानीय जनताको जायज माग सम्बोधन गर्दै समस्या समाधान गरियोस्।
४. आयोजनाका कारण उत्पन्न सामाजिक, वातावरणीय र आर्थिक समस्याहरूको निष्पक्ष छानबिन गरी समाधान गरियोस्।
विज्ञप्तिमा वडाध्यक्षहरूले भनेका छन्, “जनता लोकतन्त्रका आधारस्तम्भ हुन्। तिनै जनताको आवाजलाई बेवास्ता गर्दै दमन जारी राख्नु गैरजिम्मेवार र अमानवीय व्यवहार हो। हामी तीन तहका सरकारहरूलाई जिम्मेवारीपूर्वक जनताको हितमा काम गर्न पुनः अपील गर्दछौं।”
यदि दमन नरोकिएमा आन्दोलनमा उत्रिने चेतावनीसहित वडाध्यक्षहरूले यो कदम मानवअधिकारको रक्षा र स्थानीय जनताको हित सुनिश्चित गर्नका लागि रहेको स्पष्ट पारेका छन्।यो बिज्ञप्तिलाई बेवास्ता र हल्का नसोच्न र वार्ताका माध्यामबाट स्थानीयबासीको माग पूरा नगरे आफ्नो जिम्मेवारी समेत स्थगित गरि जनताको पक्षमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्। उनिहरुले सरकारलाई यथासिघ्र बार्ता मार्फत जनताको समस्याको सुनुवाई गरिदिनहुन सरकार समक्ष ध्यानाकर्षण समेत गराएका छन।

