शंखरापुर, काठमाडौं – शंखरापुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुना बहादुर तामाङ (सोनाम) ले सोनाम ल्होछार तामाङ समुदायको मौलिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोनाम ल्होछार २८६१ को अवसरमा शंखरापुर-४, रैलेमा आयोजित शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले तामाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्परा नेपालकै बहुल सांस्कृतिक पहिचानको अभिन्न अंग भएको उल्लेख गरे।
"तामाङ समुदायको इतिहास, परम्परा र संस्कृतिले नेपाली समाजलाई थप विविध र समृद्ध बनाएको छ। हामीले आफ्नो भाषा, कला र संस्कृतिलाई सुरक्षित राख्न सकेमात्र भविष्यका पुस्ताले हाम्रो मौलिक पहिचानलाई गर्वका साथ अँगाल्न सक्छन्," अध्यक्ष तामाङले भने।
उनले तामाङ समुदायका सांस्कृतिक पर्वहरूलाई प्रवर्द्धन गर्न र भावी पुस्तालाई संस्कृति सिकाउन स्थानीय तहले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए। "हाम्रो समुदायका मौलिक पर्व, परम्परा तथा सांस्कृतिक सम्पदाहरूको प्रवर्द्धन गर्न वडास्तरबाट विभिन्न कार्यक्रम ल्याउने तयारी गरेका छौं। सोनाम ल्होछारलाई अझ व्यवस्थित बनाउँदै स्थानीय पर्यटनसँग जोड्ने लक्ष्य राखेका छौं," उनले थपे।
तामाङ समुदायको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै उनले यो समुदाय नेपालका आदिवासी जनजातिमध्ये एक भएको र प्राचीनकालदेखि नै व्यापार, कृषि, घोडचालक तथा हस्तकलामा विशेष योगदान दिएको बताए। "हाम्रो समुदायको भाषा, धर्म र परम्पराले छुट्टै पहिचान बनाएको छ। यसको संरक्षण र प्रवर्द्धन गर्न हामी निरन्तर लागिरहनेछौं," अध्यक्ष तामाङले भने।
सोनाम ल्होछारको ऐतिहासिक महत्त्वबारे बोल्दै उनले यो केवल नयाँ वर्षको उत्सव मात्र नभई तामाङ पहिचानको गर्विलो प्रतिक रहेको बताए। "हाम्रो पुर्खाले जोगाउँदै आएको संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। यसका लागि समुदायकै पहल आवश्यक छ," उनले जोड दिए।
कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले तामाङ समुदायको योगदानको चर्चा गर्दै सरकारले सांस्कृतिक विविधताको संरक्षणमा विशेष ध्यान दिने बताएका थिए। कार्यक्रममा तामाङ समुदायका परम्परागत नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।