काठमाडौं– बौद्ध टुसालमा अवस्थित कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) कलेजले कक्षा ११ का नवप्रवेशी विद्यार्थीको स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ। बुधवार नेपाल पुलिस क्लबको सभाहलमा आयोजित विशेष समारोहमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
केब्स कलेजका अध्यक्ष गेन्द्र लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डकी सहसचिव जयन्ती सत्याल प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास कोषका कार्यकारी निर्देशक मोहन तामाङ विशेष अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी केब्स कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठ, कार्यकारी निर्देशक कुमार मोक्तान तथा सञ्चालक समिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको औपचारिक सुरुवात ‘फर्की आऊ शान्ति तिमी’ बोलको गीतमा आधारित भावपूर्ण नृत्यबाट गरिएको थियो। जेन्जी आन्दोलन र समसामयिक राष्ट्रिय अवस्थालाई प्रस्तुत गर्दै गरिएको नृत्यमार्फत शान्त नेपालका लागि सन्देश दिइनुका साथै जेन्जी सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
स्वागत मन्तव्यका क्रममा केब्स कलेजका शैक्षिक निर्देशक शशि केसीले मनास्लु वर्ल्ड कलेजले केब्सलाई आफ्नो व्यवस्थापनमा लिएको छोटो अवधिमै यति भव्य कार्यक्रम आयोजना गर्न सफल भएको बताए। उनले शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखिने उल्लेख गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थी स्वीकृति दाहालले नवप्रवेशी विद्यार्थी तथा अतिथिहरूलाई स्वागत गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप उत्साहित र प्रेरित बनाउने बताइन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
प्रबन्ध निर्देशक राजन श्रेष्ठले कोभिड महामारीको कठिन समयमा सुरु गरिएको मनास्लु वर्ल्ड कलेजले आफ्नो प्रतिबद्धता पूरा गर्दै दोस्रो शैक्षिक संस्थाका रूपमा केब्स कलेजलाई व्यवस्थापनमा लिएको बताए। भोलिका सक्षम नेतृत्व तयार पार्ने उद्देश्यका साथ अघि बढेको मनास्लुले केब्सलाई पनि उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा ‘मिस्टर एण्ड मिस केब्स २०८२’, ‘केब्स आइडल २०८२’ र ‘केब्स डान्सिङ स्टार २०८२’ को ग्रान्ड फिनाले सम्पन्न गरिएको थियो। साथै उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थी, सर्वोत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो।
सांस्कृतिक कार्यक्रममा चर्चित गायिका एलिना चौहान, विश्व दोङ एण्ड ल्हासो ब्याण्ड, मनास्लु ब्यान्ड तथा केब्स कलेजका विद्यार्थीहरूले विविध प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। Program Photo link here