काठमाडौँ । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन् ।
गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीतलाई हालसम्म १४ लाखको हाराहारीमा दर्शकले युट्युबमा हेरिसकेका छन् । गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रील्स हेर्ने दर्शकको रोजाइमा परेको छ ।
उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा अहिले सामजिक सञ्जालमा बढिरहेको छ ।
उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् । ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाईमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ ।
टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्दहरू देख्न सकिन्छ । प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन् । उनीहरूले फिल्ममा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन् ।
अभिनेत्री खड्काले उक्त गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायांकनको बीच बीचमा गरिएको बताइन । उनले भनिन्, ‘हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको प्राक्टिस गर्थियौ । हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो । यी सानी नानीले गज्जब गरेकी छिन्, मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो । हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ ।’
उक्त गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन् । गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन् । गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो ।
फिल्मको प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।