काठमाडौं । प्रतिपक्षी दलहरूले मुलुकमा देखिएका समसामयिक राजनीतिक, न्यायिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल गर्न यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।
सोमबार नेपाली कांग्रेसले आह्वान गरेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् बैठक तत्काल बोलाउनुपर्ने बताएका हुन् ।
उनले मुलुकमा बिचौलियासँग सम्बन्धित विषय, न्यायालयमाथि उठेका प्रश्न, प्रेससँग जोडिएका संवेदनशील विषय, प्रहरीसँग सम्बन्धित घटना तथा प्रधानमन्त्री र उहाँको सचिवालयसँग जोडिएका विषयमा बैठकमा छलफल भएको बताए ।
उनले भने, ‘हामीले समसामयिक विषयहरूमा कुरा गर्यौँ । बिचौलियासँग सम्बन्धित धेरै कुरा आएको छ । न्यायालयको विषयमा प्रश्नहरू उठेका छन् । प्रेससँग गाँसिएका धेरै संवेदनशील विषय छन् । प्रहरीसँगको विषयहरू, स्वयं कार्यकारी प्रधानमन्त्रीसँगै गाँसिएको अथवा सचिवालयसँग गाँसिएका कुराहरू छन् । यी व्यापक विषयहरूमा छलफल भएको छ ।’
सतहमा विभिन्न विषयमा चर्चा परिचर्चा गर्नुभन्दा संसद्बाटै संस्थागत रूपमा छलफल गरी सत्यतथ्य खोज्नुपर्ने उनको भनाइ छ । संसद् अधिवेशन नबोलाई अध्यादेशमार्फत मात्रै राज्य सञ्चालनका विषय अघि बढाउँदा संसद्को गरिमा र अपरिहार्यतामाथि प्रश्न उठ्न सक्ने उनले बताए ।
उनले भने, ‘हरेक कुरा अध्यादेशबाट लिएर जाने हो, अध्यादेशबाट मात्रै सबै कुराको निष्कर्ष खोज्दै जाने हो भने संसद्को अपरिहार्यता र त्यसको जुन एउटा गरिमा छ, त्यसमाथि पनि प्रश्नहरू उठ्न सक्छन् । त्यसले गर्दा चाँडोभन्दा चाँडो संसद् बोलाएर यस्ता उठेका कुराहरूको विषयमा संसद्बाट टुङ्गो खोज्नुपर्ने छ ।’
बैठकमा विभिन्न घटनाको छानबिन गर्न गठित समितिहरूको काम र निष्कर्षबारे पनि छलफल भएको आङ्देम्बेले बताए । त्यस्तै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्का कारण विस्थापित भएका नागरिकले अझै राहत र घरभाडा नपाएको विषयमा पनि बैठकमा छलफल भएको उनले बताए । बढ्दो महँगी, विपद्पछिको पुनर्स्थापना तथा राज्यका महत्त्वपूर्ण निकायमाथि उठेका प्रश्नहरूको निरूपण संसद्बाटै गर्नुपर्ने उनले बताए ।