दोहा, कतार
नेपालका विभिन्न जिल्लामा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रवासमा रहेका नेपालीहरू उद्धार तथा राहत अभियानमा जुटेका छन्। यसैक्रममा चीनको तिब्बततर्फबाट आएको बाढीले विशेषगरी रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा क्षति पुर्याएपछि कतारस्थित क्षत्री समाज नेपालले बाढीपीडितका लागि रु. ५५,५५५ राहत रकम गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (NCC Qatar) लाई हस्तान्तरण गरेको छ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि NCC कतारका अध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा कतारमा स्थापित नेपाली संघ–संस्थाका प्रतिनिधिहरू समेटेर एक मूल समिति गठन गरिएको थियो। सोही अभियान अन्तर्गत क्षत्री समाज नेपाल, कतार शाखाले पनि सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
समाजले आकस्मिक भर्चुअल बैठक मार्फत कोषाध्यक्ष कमल खत्रीलाई सहयोग संकलन अभियानको संयोजक तोकेको थियो। समाजका सदस्य तथा शुभेच्छुकहरूबाट संकलित उक्त रकम ७ सेप्टेम्बर २०२६ मा NCC कतारलाई एकमुष्ट हस्तान्तरण गरिएको हो।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्षत्री समाज नेपाल, कतार शाखाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो:
अध्यक्ष: गुणराज कटुवाल,संरक्षक तथा पूर्व पदाधिकारीहरूश्याम कुमार डाँगी (निवर्तमान अध्यक्ष/प्रमुख सल्लाहकार), रेशम बस्नेत (संस्थापक महासचिव/पूर्व अध्यक्ष/संरक्षक), सागर नेपाल (संरक्षक), तेज कटुवाल (संरक्षक),सल्लाहकारहरू: सुष्मा खतिवडा कटुवाल, प्रेम बस्नेत,कार्यसमिति पदाधिकारीहरू: कल्पना जी.सी. (सचिव), कमल खत्री (कोषाध्यक्ष/अभियान संयोजक), अंकिता खत्री (सदस्य) लगायतको उपस्थिति रहेको थियो ।
सहयोग रकम ग्रहण गर्दै NCC कतारका अध्यक्ष कृष्ण पन्थीले क्षत्री समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो। प्रवासमा रहेका सामाजिक संघ–संस्थाहरू बीचको एकता र समन्वयले मातृभूमिमा परेको विपत्तिको सामना गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि NCC कतार र क्षत्री समाजबीच सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो।
क्षत्री समाज कतारका अध्यक्ष गुणराज कटुवालले अभिभावकीय भूमिका निर्वाह गर्दै राहत अभियानको नेतृत्व लिएकोमा NCC कतारप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:
"विपत्तिको समयमा प्रवासमा रहेका नेपालीहरू बीचको एकता, सहकार्य र मानवीय भावना नै सबैभन्दा ठूलो शक्ति हो।"
क्षत्री समाजले तत्कालीन उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापना, सुरक्षित बस्ती व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणका लागि राज्य र सामाजिक संघ–संस्थाहरूबीच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिएको छ। आगामी दिनमा पनि सामाजिक सेवा, मानवीय सहयोग र मातृभूमिप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता समाजले व्यक्त गरेको छ।