दोहा, कतार
संखुवासभा समाज कतारले विजयादशमीको अवसरमा टीका ग्रहण, शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। प्लाजामलस्थित लालीगुँरास रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष बिरेन मादेन लिम्बुको अध्यक्षतामा उक्त समारोह आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समाजका संरक्षक एवं लालीगुँरास रेस्टुरेन्टका सञ्चालक पर्शुराम दाहाल रहेका थिए। साथै, रेस्टुरेन्टकी सञ्चालिका एवं समाजकी सल्लाहकार पुनम कटेल दाहालको पनि विशिष्ट उपस्थिति रहेको थियो।
समारोहमा प्रमुख अतिथि दाहाल र सल्लाहकार कटेलले उपस्थित सम्पूर्ण संखुवासभाली, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, कलाकार तथा पाहुनाहरूलाई विजयादशमीको शुभकामना व्यक्त गर्दै टीका र जमरा लगाइदिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले यस्ता मौलिक चाडपर्वहरूले प्रवासी नेपालीहरूबीच आपसी सद्भाव, धार्मिक सहिष्णुता र एकतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
अध्यक्ष बिरेन मादेन लिम्बुले प्रवासमा रहे पनि नेपाली मौलिकता र भ्रातृत्वको भावना बचाइराख्नुपर्नेमा जोड दिए। समाजले स्थापनाकालदेखि नै यस्तै सांस्कृतिक तथा सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले बताए।
समारोहमा कतारमा आयोजित भलिबल प्रतियोगितामा विजयी नेपाली महिला भलिबल टोलीकी खेलाडी एवं संखुवासभाकी छोरी सरिता तामाङलाई विशेष सम्मान गरिएको थियो।
सांस्कृतिक प्रस्तुतिका कारण कार्यक्रम निकै आकर्षक बनेको थियो: समाजको आफ्नै पञ्चैबाजा समूहले सहनाई र पञ्चेबाजाको धुन प्रस्तुत गर्दा सभाहलमा नेपाली गाउँघरको झल्को आएको थियो। संखुवासभाका स्थानीय प्रतिभा विष्णु पञ्चकोटीले सालको पात बजाएर सुमधुर लोकधुन पस्किएका थिए। सोही अवसरमा गायक लोकेन्द्र दुतराजको नयाँ गीति एल्बम सार्वजनिक गरिएको थियो।
सहभागीहरूलाई थप मनोरञ्जन दिलाउन लक्की ड्रा कुपन कार्यक्रम सञ्चालन गरिएको थियो। भाग्यशाली विजेताहरूले ल्यापटप, मोबाइल, साउन्ड स्पिकर र घडीजस्ता विभिन्न उपहारहरू प्राप्त गरे।
कार्यक्रममा समाजका संरक्षक जोहेव लामा, विशेष सल्लाहकार निरन नेपाल, कोशी प्रदेश समन्वय परिषद् कतारका महासचिव महेन्द्र उप्रेती, मधेस प्रदेशका अध्यक्ष कलाम हुसेन खाँन, खोटाङ सेवा समाजका अध्यक्ष पर्शुराम श्रेष्ठ, पाँचथर सेवा समाजका अध्यक्ष तथा नेपाली महिला समाजकी प्रतिनिधि लीला राई र अभियन्ता केशव कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
द्वितीय उपाध्यक्ष मानबहादुर तामाङले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रमको सञ्चालन महासचिव शिवकुमार खत्रीले गरेका थिए।
सन् २०१६ (वि.सं. २०७३) मा स्थापित यस समाजले "संखुवासभालीको पहिचान, विश्वसामु चिनाउने हाम्रो अभियान" भन्ने नाराका साथ कतारमा रहेका नेपालीहरूका लागि निरन्तर सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।