दोहा, कतार — धादिङ सेवा समाज कतारको आठौँ अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहामा भव्य रूपमा सम्पन्न भएको छ। सनैयास्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित अधिवेशनको बन्द सत्रले सिद्धलेक गाउँपालिका–१ का रामहरि श्रेष्ठको अध्यक्षतामा २०२६–२०२८ कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
अधिवेशनबाट संस्थाको प्रथम उपाध्यक्षमा मिलन रानाभाट, द्वितीय उपाध्यक्षमा अनिता तामाङ, महासचिवमा अम्बरबहादुर गुरुङ, सचिवमा रमेश इटनी, कोषाध्यक्षमा विनोद गोले गुरुङ र सह–कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरूमा डम्बरबहादुर श्रेष्ठ ‘गणेश’, इन्दिरा परियार, सुजन तामाङ, प्रकाश भुजेल, कल्पना काप्री, सुरज रोका, सुरेन्द्र श्रेष्ठ र विकास मल्ल ठकुरी रहेका छन्।
समाजका कार्यवाहक अध्यक्ष गौतम वाइबा तामाङको सभापतित्व एवं गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा औपचारिक समारोह सम्पन्न भएको थियो। द्वितीय उपाध्यक्ष उषा रिमालको स्वागत मन्तव्य तथा नृत्याङ्गना अस्मिता लामिछानेको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा कतारस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार तथा धादिङेली समुदायको बाक्लो उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले धादिङ सेवा समाज र एनसीसी कतारबिचको सहकार्य र सम्बन्ध निरन्तर मजबुत बन्दै गएको बताए। अर्थमन्त्री डा. वाग्लेको कतार भ्रमणका क्रममा सामाजिक सञ्जालमा उठेका जिज्ञासाहरूबारे स्पष्ट पार्दै उनले भ्रमणअघि नै साझा कार्यक्रमका लागि प्रयास गरे पनि व्यस्त समयतालिकाका कारण व्यवस्थापन हुन नसकेको जनाए।
कार्यक्रममा आर्थिक प्रतिवेदनमा देखिएको बक्यौताबारे उठाइएका प्रश्नको जवाफ दिँदै सभापति गौतम वाइबा तामाङले उक्त रकम समाजद्वारा आयोजित सांस्कृतिक कार्यक्रमहरूसँग सम्बन्धित रहेको स्पष्ट पारे। आफू केही समय नेपालमा रहनुपरेकाले संस्थागत गतिविधिमा केही ढिलाइ भए पनि कतार फर्किएसँगै बक्यौता उठानको काम तीव्र पारिएको उनले जानकारी दिए।
महासचिव रामहरि श्रेष्ठले सहजीकरण गरेको उक्त खुला सत्रमा उपस्थित वक्ताहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समाज सम्पूर्ण धादिङेलीको साझा संस्था भएकाले सबै पक्षलाई समेटेर अगाडि बढ्ने बताए।