दोहा (कतार) — प्रवासमा रहेका नेपाली दर्शक तथा संगीतप्रेमीहरूलाई आफ्ना चर्चित गीतहरूमार्फत नचाउन नेपालकी लोकप्रिय गायिका मेलिना राई आज कतार आइपुगेकी छन्। सुनुवार सेवा समाज शाखा, दोहा–कतारको १७औँ वार्षिक उत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ मा विशेष सांगीतिक प्रस्तुति दिन उनी कतार आएकी हुन्।
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गायिका राईलाई स्वागत गर्न संस्थाका अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारी तथा नेपाली संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। विमानस्थलमा उनलाई खादा र पुष्पगुच्छासहित भव्य स्वागत गरिएको छ। गायिका राई कतार आएसँगै कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
नेपाली कला, संस्कृति, भाषा र मौलिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त बृहत् सांस्कृतिक उत्सव भोलि २७ नोभेम्बर २०२६ शुक्रबारका दिन कतारको वाकिरस्थित DPS School Auditorium मा हुँदैछ। आयोजक संस्थाका अध्यक्ष गङ्गाबहादुर सुनुवारका अनुसार कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेकी गायिका राईको प्रत्यक्ष प्रस्तुति हेर्न र उहाँका गीतमा झुम्न कतारमा रहेका नेपाली संगीतप्रेमीहरू निकै उत्साहित देखिएका छन्। राईले 'कुटुमा कुटु', 'कम्मरै भाँचिदेऊ', 'जालमा', 'शिरैमा शिरबन्दी', 'तिम्रो आँखामा', 'पिरतीको मिठो तिर्सना', 'नरिसाउ न माया' र 'हेर न हेर कान्छा' लगायतका आफ्ना दर्जनौँ सुपरहिट गीतहरूमार्फत वाकिरको मञ्च तताउनेछिन्। गायिका राईसँगै कतारमै सक्रिय स्थानीय नेपाली कलाकारहरूको समेत विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने संस्थाकी महासचिव बिनिता सुनुवारले जानकारी दिएकी छन्।
प्रवासमा नेपाली समुदायबीच आपसी सद्भाव र एकता बलियो बनाउन आयोजित यस कार्यक्रममा उपस्थित भई उत्सवलाई भव्यताका साथ सफल बनाइदिन आयोजक संस्थाले कतारवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गरेको छ।