दोहा, कतार । आगामी ११ र १२ डिसेम्बर २०२६ मा कतारमा आयोजना हुन गइरहेको ९औँ गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीका विषयमा कतारस्थित नेपाली संघ–संस्थाहरूसँग बृहत अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको आयोजनामा सम्मेलनको उद्देश्य, व्यवस्थापन तथा कतारमा क्रियाशील नेपाली संघ–संस्थाहरूको सहभागिता र भूमिकाका विषयमा आपसी समन्वय एवं सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको हो ।
मुन्तजास्थित गोर्खाली रेष्टुरेण्टमा शुक्रवार (२७ नोभेम्बर २०२६) साँझ सम्पन्न अन्तरक्रियामा एनआरएनए आईसीसी उप-महासचिव मोहमद मुक्तदा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, एनआरएनए अभियन्ता, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार, साहित्यकार, खेलाडी, पत्रकार तथा पञ्जीकृत सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको सभापतित्व तथा महासचिव शिव भुजेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा जागिर आलमले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णमा हार्दिक स्वागत गर्नुभएको थियो । कार्यक्रमको उद्देश्य र सम्मेलनको तयारीका बारेमा प्रकाश पार्दै सभापति तथा अध्यक्ष कृष्ण पन्थीले कतारमा हुन लागेको यो क्षेत्रीय सम्मेलन सम्पूर्ण मध्यपूर्वका नेपालीहरूको साझा भएकाले यसलाई ऐतिहासिक रूपले सफल बनाउन कतारस्थित सबै संघ–संस्थाको हातेमालो अपरिहार्य रहेको बताउनुभयो ।
अन्तरक्रियाका क्रममा उपस्थित विभिन्न संघ–संस्थाका व्यक्तित्वहरूले क्षेत्रीय सम्मेलनलाई भव्य र सफल पार्न आ–आफ्नो तर्फबाट रचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए । वक्ताहरूले विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूको हकहित, सुरक्षित आप्रवासन, न्यूनतम पारिश्रमिक, श्रम स्वीकृति नवीकरणमा सहजता, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन तथा विपद्मा परेका श्रमिकहरूको उद्धार र राहतका विषयलाई सम्मेलनको मुख्य एजेन्डा बनाउनुपर्नेमा जोड दिएका थिए ।
यसैगरी, ९औँ क्षेत्रीय सम्मेलनबाट जारी गरिने घोषणापत्रमा समेट्नुपर्ने महत्त्वपूर्ण विषयवस्तुहरूमाथि गहन विमर्श गरिनुका साथै नेपाली समुदायका साझा सरोकार र गैरआवासीय नेपाली अभियानको भावी कार्यदिशाका सम्बन्धमा संघ–संस्थाहरूबाट संस्थागत धारणा राखिएको थियो ।
गैरआवासीय नेपाली संघ, मध्यपूर्वको आयोजनामा हुने उक्त ९औँ क्षेत्रीय सम्मेलनमा मध्यपूर्वका विभिन्न देशबाट एनआरएनएका प्रतिनिधि तथा अभियन्ताहरूको सहभागिता रहनेछ ।
सम्मेलनलाई भव्य, सभ्य र फलदायी बनाउन कतारस्थित सम्पूर्ण नेपाली समुदाय एवं संघ–संस्थाहरूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा विभिन्न देश तथा क्षेत्रबाट विशिष्ट अतिथि, राजनीतिक दलका प्रतिनिधि, सांसद, सरकारी उच्चपदस्थ अधिकारी, श्रम तथा वैदेशिक रोजगार क्षेत्रका प्रतिनिधि, मिस नेपाल र अन्तर्राष्ट्रिय सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
संसद्का सभामुखको सहभागिता निश्चित भएको र मन्त्रीको सहभागिताबारे करिब ९५ प्रतिशत सुनिश्चितता रहेको पनि जानकारी दिएका छ्न ।
कार्यक्रममा संस्थागत सहभागितालाई सहज बनाउन कतारमा स्थापित प्रत्येक संस्थाबाट एक जना प्रतिनिधि र एकजना महिलालाई निःशुल्क सहभागी गराउने व्यवस्था गरिएको अध्यक्ष पन्थीले जानकारी गराउनु भयो । एकभन्दा बढी प्रतिनिधि सहभागी हुन चाहेमा २०० कतारी रियल शुल्क निर्धारण गरिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
दुई सय कतारी रियाल शुल्क तिरेमा संस्थाको लोगो ब्यानरमा राखिने र थप एक जना सहभागी हुन सक्ने जानकारीसमेत पन्थीले गराउनु भयो ।”