हराभरा सामुदायिक वन फाँड्दै सडक बनाउने नाउँमा महोत्तरीमा लाखौँ रकम विनियोजन भएको छ ।
जिल्लाको बर्दिवास नगरपालिका–१ र ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन मास्दै सडक बनाउन प्रदेश नं. २ सरकारले लाखौं रकम विनियोजन गरेको हो ।
बर्दिवासको मुख्य बजारक्षेत्र रातु नदीको पुलदेखि भब्सी नदीको पुलसम्मको करिब तीन किलोमिटर क्षेत्रभित्रको उत्तरतर्फको पाखामा अहिले नेवारडाँडा कामीडाँडा, चिहानडाँडा र रातमाटासमेत तीनवटा सामुदायिक वनक्षेत्र छन् । यीमध्ये ५८ हेक्टर क्षेत्रफलको नेवारडाँडा कामीडाँडा वनक्षेत्रमा सडक बनाउने विकासे योजनाको नाउँमा ठूलठूला यन्त्र लगाएर सघन वनक्षेत्र फाँडिएको छ ।
यो वनक्षेत्रको दाहाल्नीखोल्सी छेउबाटै बर्दिवास–३ को गौरीडाँडास्थित वनकै अतिक्रमित क्षेत्र पस्न प्रदेश सरकारले वनपाखा खसालेर सडक बनाउन रु ५५ लाख विनियोजन गरेर काम थालेको हो । यसअघि गतवर्ष पनि प्रदेशसभा–२ सदस्य शारदा थापाको सिफारिसमा यो सडक बनाउने योजनामा करिब रु सात लाख खर्च गरेर वनक्षेत्रका रुख ढालिएको थियो ।
प्रदेशसभा सदस्यको सिफारिसमा संसदीय विकास कोष र क्षेत्र विकास कोषबाट बनेका सडक योजनाले जथाभावी वनपाखा झार्ने काम गर्न थालेपछि बर्दिवासका बासिन्दा अबको बर्खामा भेल बढेर घरघर पस्ने चिन्तामा छन् । “वनक्षेत्रबाट झरेका खोल्सी साघुँ¥याएर संरचनाहरु निर्माण गरिदा प्रत्येक वर्षजसो बर्खेभेल घरघर पस्ने गरेको छ” बर्दिवास–१ का बासिन्दा सामाजिक कार्यकर्ता शङ्कर फुयाँलले भन्नुभयो, “अब त विकासका नाउँमा ठूलठूला यन्त्र लगाएर वनपाखा झारिएको छ, आउँदा दिन अझ कति भयावह हुनेहुन् ?” वनक्षेत्र छिचोलेर पाखाभित्ता भत्काउँदै सडक संरचना बनाइँदा पनि वनसम्बद्ध कार्यालय, स्थानीय प्रशासनको मौनता भने टिठलाग्दो देखिएको फुयाँलको थप गुनासो छ ।
वनक्षेत्रमा अत्यावश्यक कुनै विकास संरचना बनाइन पर्दा त्यसको वातावरणीय प्रभावबारे अध्ययन, सम्बन्धित विज्ञको ठहर र वनसम्बद्ध कार्यालय एवं स्थानीयतहबीच आवश्यक समन्वय गरिनुपर्नेमा यहाँ ‘मुडे बल’ प्रयोग भएको आम टिप्पणी छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले वनक्षेत्र चिर्दै बनाइँदै गरिएको सो सडकबारे आपूmसँग कुनै समन्वय नभएको बताउनुभयो । यसैगरी डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले वनक्षेत्र चिरेर बनाइने संरचनाका लागि आपूmले कुनै सहमति दिन नसक्ने र यसबारे आफ्ना उपल्लोतहमा जानकारी गराउने बताउनुभयो । “मैले वनपाखा झारेर सडक बनाइन थालेपछि सडक निर्माण उपभोक्ता समितिका अध्यक्षलाई लिखितपत्र नै दिएर काम रोक्न आग्रह गरेँ”, उहाँले भन्नुभयो, “तर, प्रदेशसभा सदस्यले सिफारिस गर्नुभएको सो काम रोकिएन, यसबारे आवश्यक कारवाहीका लागि उपल्लोतहमा समन्वय गर्दैछु ।”
बर्दिवास–३ गौरीडाँडाको सो¥हबिघा भनिने वन अतिक्रमण क्षेत्रमा पहुँचवाला ठूलाठालुले जग्गा साँधसीमा लगाएर कज्याएका हुँदा सो प्लटको भोगचलन सजिलो बनाउन वन फाँड्दै सडक योजना बनेको यहाँका सर्वसाधारण बताउँछन् । नेवारडाँडा कामीडाँडा सामुदायिक वनको सो¥हबिघा भनिने पाँच नम्बर प्लटभित्र करिब पाँच हेक्टर क्षेत्रफल अतिक्रमण गरी १०० भन्दा बढीले साँधसीमा गरेका डिभिजन वन कार्यालय महोत्तरीले गत चैतमा गरेको नापीमा देखिएको यसअघि नै डिभिजन प्रमुख साहले बताइसक्नु भएको छ ।
यता प्रदेशसभा सदस्य शारदा थापाले बर्दिवास–१ र ३ बीच आवागमन सहज बनाउन स्थानीयवासीकै मागअनुसार सडक योजनामा आपूmले रकम विनियोजनका लागि सिफारिस गरेको बताउनुभयो । पहिलेदेखि नै सडक आकार रहेको ठाउँमा आपूmले सिफारिस गरेको सडक योजनाले वनक्षेत्रका रुख नढालेको थापाको भनाइ छ ।
बर्दिवासमा वन अतिक्रमण क्षेत्रको जग्गा कज्याउनेहरुले भोगचलन सहज बनाउन र अतिक्रमित क्षेत्रमा घर संरचना बनाउने काम सुगम बनाउन वन फाँडेर सडक बनाएका आरोप बढेपछि प्रदेशसभा–२ को प्राकृतिक स्रोत साधन समितिका सभापति रामचन्द्र मण्डलसहित विज्ञ टोलीले स्थलगत अनुगमन गरेको छ । “हामीले वनक्षेत्रमै बनाइएको सडक र सो¥हबिघा भनिने प्लटको बिहीबार अनुगमन गरेका छौँ” सभापति मण्डलले सञ्चारकर्मीसँग भन्नुभयो, “वनक्षेत्र अतिक्रमण र सडक निर्माणबारे विज्ञहरुबीच छलफल गरेर देखिएको अवस्थाबारे प्रदेशसभा र अन्य सम्बद्ध पक्षलाई जानकारी गराउने छौँ ।”
बर्सेनि वनक्षेत्र अतिक्रमण बढ्दै जानु र अतिक्रमण नियन्त्रणमा तीनै तहका सरकार र निकायहरु उदासिन देखिनुले आमजनतामा वन सुरक्षाबारे थप चिन्ता बढेको यसभेगका सर्वसाधारण बताउँछन् । वनपाखाको सुरक्षासँग बस्तीको भविष्य जोडिएको हुँदा यसबारे सम्बद्धपक्षले चासो बढाउन आवश्यक भएको बर्दिवास–१ का वडासदस्य निरज अधिकारीले बताउनुभयो । RSS