काठमाडौं, सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
जसमध्ये प्रसाईंका स्वकीय सचिव रहेका विनञ्जय थापा सहित १५ जना प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिएका छन।
दुर्गा प्रसाईंको अभियानका सदस्य तथा संगठन विभाग प्रमुख हरि कार्कीले पनि स्वकीय सचिव थापालाई प्रहरीले पक्राउ गरेको बताए। प्रदर्शन सकिसकेपछि प्रहरीले थापालाई पक्राउ गरी लगेको उनले बताए।
यसअघि प्रहरीले विवादास्पद अभिव्यक्ति दिने धर्मगुरू श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको थियो। उनी त्रिशूल बोकेर प्रदर्शनमा उत्रिएका थिए।
भोजराज तिमल्सिना, नितेश बास्तोला, हरि बिशुंखे, दिपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, ऊबहादुर रिजाल, युविन श्रेष्ठ, सुजन खड्का, मेहरमान बस्नेत र दिपेश खड्का प्रहरीको नियन्त्रणमा रहेको र उनीहरू सबैविरूद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय भइ नसकेको एसपी ढुंगेलले बताए।
सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा पनि प्रहरीसँग झडप भएको थियो। प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको थियो। त्यसक्रममा प्रहरीसहित ३८ जना घाइते भएको परिसरले जानकारी दिएको छ।गत मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईंले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्।