काठमाडौं । ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरेको षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ ।
अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मको सार्वजनिक पहिलो पोस्टरले नै दर्शकको ध्यान केन्द्रीत गरेको थियो । गर्भवती महिला शृंगार गरेर ढोकामा उभिएर हेरिरहेको पोस्टरले फिल्मको कथासार ब्याख्या गरेको थियो ।
सार्वजनिक ट्रेलर र गीतसङ्गीतका कारण प्रतिक्षित बनेको फिल्ममा स्वस्तिमाले बादी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
‘बुलबुल’ र ‘चिसो मान्छे’ पछि स्वस्तिमालाई पात्रले चर्चामा ल्याएको फिल्म ‘लालीबजार’ लाई उनले आफ्नो अभिनय यात्राको ‘टर्नीङ प्वाइन्ट’ मानेकी छिन् । अभिनय यात्रा प्रारम्भ गरेको दशकपछि पहिलोपटक अडिसन दिएर स्वस्तिमाले आफूलाई ‘लालीबजार’ को मधुवाला नामक पात्रको लागि तयार गरेकी थिइन् । फिल्मको सार्वजनिक गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब, टिकटक, रील्स र शट्समा लोकप्रिय छ ।
यस्तै, ’मिठो संसार’ र ‘मै राम्री छु त नी’ पनि दर्शकले रुचाएका छन् । ‘जात्रा’ देखि षट्कोण आट्र्सले निर्माण गरेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका थिएँ । तर, यसपटक ’लालीबजार’ मा निर्देशनको जिम्मा यम थापालाई दिईएको छ । फिल्मको कथा पनि उनकै हो भने पटकथा निर्देशकद्वय भट्टराई र थापाले तयार गरेका छन् ।
षट्कोण आट्र्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरिरहदा पटकथामा सुझाव दिन निर्देशक यम थापासँग निर्देशक भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ र निर्माता म्याक्स दीपेश खत्रीको भेट भएको थियो । सोही भेटले ’लालीबजार’ को सहकार्य जुराएको थियो । सुझाव दिन भेटघाट भएको पटकथामा छलफल भएपछि निर्देशक यम थापाले आफूसँग भएको बादी समुदायको पृष्ठभूमिमा तयार गरिएको आमा र छोरीको कथा सुनाएका थिए ।
सो कथा मन परेपछि षट्कोण आट्र्सले फिल्म बनाउने तयारी सुरू गरेको थियो । डिजिटल माध्यममा पर्याप्त जानकारी उपलब्ध नभएपछि बर्दिया नै पुगेर अनुसन्धान गरेर फिल्मको कथालाई पूर्णता दिईएको निर्माण कम्पनिले बताएको छ । विशेषत बादी समुदायसँग जोडिएको विषय भएकाले पनि निर्माण कम्पनि षट्कोण आट्र्सले निकै गम्भीरताका साथ पटकथा तयार गरेको थियो ।