काठमाडौँ । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजारु हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत, नेपालगंज पुग्ने भएको छ ।
अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईलगायतको टिमले आजदेखि सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ ।
फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट तारिफ पाइरहेको ‘लालीबजार’ का दर्शकका रुपमा पछिल्लो समय परिवार नै दर्शक बनेर आइरहेका छन् । वादी समुदायका अभियन्ताले समेत फिल्म हेरेर सामाजिक सञ्जालमार्फत तारिफ गरिरहेका छन् ।
प्रदर्शनकै दिनदेखि काठमाडौँ उपत्यकामा विभिन्न सिनेमा घरमा पुगेर दर्शक भेटघाट गरिरहेको टिमले केही दिनउपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै साक्षात्कार गर्ने कार्यकारी निर्माता प्रदीप भट्टराईले बताए ।
उनले भने, ‘हामीले दर्शकबाट प्राप्त गरिरहेको मायालाई शब्दमा व्यक्त गर्न सकिरहेका छैनौं । हामीले प्रदर्शन कै दिनदेखि काठमाडौँ उपत्यकाका दर्शकसँग भेटघाट गरिरहेका छौँ, अब हामी मोफसलका दर्शकलाई भेटेर प्रतिक्रिया लिनेछौं । यो यात्राले हामीलाई प्रत्यक्ष रुपमा
दर्शकको प्रतिक्रिया बुझ्न मदत गर्ने विश्वास छ ।’
उनले सुर्खेतबाट सुरू हुने यात्रा नेपालगंज हुँदै मोफसलका अन्य सहरमा पनि पुग्ने बताए । ‘हामी दर्शकलाई सरप्राइज दिन विभिन्न सहरमा पुग्नेछौँ, उहाँहरूले फिल्म हेरिरहँदा अन्त्यमा हामीसँग साक्षात्कार गर्नुहुनेछ,’ उनले भने ।
फिल्मले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ । पहिलो दिन झैँ निर्माण टिम दोस्रो दिन शनिवार पनि उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेटघाट गरिरहेको छ ।
अभिनेत्री खड्कासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनयु गरेको भन्दै प्रतिक्रिया दिए । फिल्ममा उनले निर्वाह गरेको ‘नारायण कै पात्रको नामले दर्शकले उनलाई हलमा बोलाए । डेब्यु अभिनेत्री प्रशंसा सुवेदीले सबै वर्गका दर्शकले फिल्मलाई माया दिईरहेको बताइन । जेनजी अभियन्ताकी रुपमा परिचित कन्टेन्ट क्रिएटर प्रशंसाले फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।