दोहा, कतार ।
नवलपरासी सेवा समाज कतारको चौथो अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनको दोस्रो (बन्द) सत्रले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा लोकप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा कमला बस्याल भण्डारी, महासचिवमा विष्णु शाही, सचिवमा रामजी सुवेदी, कोषाध्यक्षमा मान सिङ बिक र सहकोषाध्यक्षमा मोनिका श्रेष्ठ रहेका छन् । कार्यसमितिका सदस्यहरूमा क्रमशः रुद्र प्रसाद न्यौपाने, दिपेन थापा, राजु खत्री, लक्ष्मी आचार्य, धनमाया गुरुङ र राजकुमार पन्जीयार रहेका छन् ।
यसअघि, अधिवेशनको पहिलो (खुला) सत्र समाजका अध्यक्ष दुर्गा हमालको सभाध्यक्षता तथा समाजका प्रमुख संरक्षक केबी हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन गर्दै समाजका तत्कालीन महासचिव (हाल नवनिर्वाचित अध्यक्ष) चन्द्रबहादुर गुरुङले संस्थाको दुई वर्षे कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका संयोजक तथा समाजका उपाध्यक्ष नर बहादुर थापाले स्वागत मन्तव्य राख्दै नवलपरासी जिल्लाको संक्षिप्त परिचय र भौगोलिक विशेषताका बारेमा प्रकाश पार्नुभएको थियो। स्वागत नृत्यसहित स्थानीय कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू दिएका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले समाजले विगत दुई वर्षको अवधिमा नवलपरासी जिल्लाभित्रका विभिन्न विद्यालयहरूमा स्थापना गरेको अक्षय कोषको विशेष प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे।
विशेष सम्मान:
कार्यक्रममा तमु प्ये ल्हुले कार्यक्रमका सभापति दुर्गा हमाल र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) कतारका अध्यक्ष कृष्ण पन्थीलाई विशेष 'केग्री फेटा' ओढाएर सम्मान गरेको थियो।

नवलपरासी जिल्लाको प्रतिनिधित्व गर्दै एनआरएनए एनसिसिको अध्यक्ष पदमा निर्वाचित कृष्ण पन्थी र सदस्य पदमा निर्वाचित मानसिंह विकलाई समाजले विशेष सम्मान गरेको थियो।
समाजले प्रमुख अतिथि केबी हमाललाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका प्रमुख सल्लाहकार समेत रहेका पन्थीले समाजको प्राथमिकता रचनात्मक र दीर्घकालीन काममा मात्र रहेको बताउँदै आफूहरूले कतारमा रहेका नेपालीहरूको सशक्तीकरण र सचेतनाका लागि मात्र काम गर्ने गरेको बताए ।
प्रमुख अतिथि हमालले आफ्नो शुभकामना मन्तव्यका क्रममा संस्थाले ८ वर्षको छोटो अन्तरालमा निकै ठुलो फड्को मारेको बताउँदै कतारमा एनआरएनएको नेतृत्व समेत जन्माइसकेको स्मरण गरे ।
अधिवेशनको खुल्ला सत्रको समापन गर्दै निवर्तमान सभाध्यक्ष दुर्गा हमालले आफ्नो कार्यकालभरि संस्थालाई उदाहरणीय र गतिलो नेतृत्व दिने अधिकतम प्रयास गरेको बताउनुभयो। आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न हुनुमा सिंगो कतारस्थित नेपाली समाज, नवलपरासी जिल्लाका अग्रज, संस्थापक, कलाकार, पत्रकार, साहित्यकार, बुद्धिजीवी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको अथाह साथ र सहयोग रहेको भन्दै उहाँले सबैप्रति आभार प्रकट गर्नुभयो।
