दिपक पुडासैनी
काभ्रेपलाञ्चोक, असार ६
नागरिकको दृष्टिमा पत्रकारिता क्षेत्रको विश्वसनीयता घट्दै गएको निष्कर्षसँगै पत्रकारलाई थप जिम्मेवार बनाउन सम्पादक समाज नेपालले देशव्यापी अभियान सञ्चालन गरिरहेको छ। सोही अभियानअन्तर्गत समाजले विभिन्न जिल्लामा सक्रिय पत्रकारहरूलाई सहभागी गराई “जिम्मेवार पत्रकारिता र नागरिक अपेक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसै क्रममा शनिबार काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित गोष्ठीमा बोल्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पत्रकारिता क्षेत्रमा बढ्दो विकृतिप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले जुनसुकै माध्यमबाट प्रसारित सामग्रीलाई समाचारका रूपमा ग्रहण गर्नुपर्ने अवस्था सिर्जना भएको तर ती सामग्री विश्वसनीय नहुँदा सत्य समाचारसमेत शंकाको घेरामा पर्ने गरेको बताउनुभयो।
भ्यूज बढाउने उद्देश्यले नाटकीय ढंगले समाचार सम्प्रेषण गर्ने प्रवृत्तिका कारण वास्तविक र जनसरोकारका विषय ओझेलमा परेको उल्लेख गर्दै नगरप्रमुख भण्डारीले पत्रकारिता क्षेत्रलाई जिम्मेवार बनाउन सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।
सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले यसअघि नुवाकोट र काठमाडौंमा यस्तै कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिँदै नागरिकको अपेक्षाअनुसार जिम्मेवार पत्रकारिता प्रवर्द्धन गर्न समाजले विगत एक वर्षदेखि निरन्तर गृहकार्य गरिरहेको बताउनुभयो। बागमती प्रदेशका सबै जिल्लामा यस्ता कार्यक्रम विस्तार गर्दै पत्रकारितालाई मर्यादित र उत्तरदायी बनाउने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता विभागका प्रमुख डा. जगत नेपालले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय पत्रकारिता ‘न्युजभन्दा भ्यूज’ केन्द्रित बन्दै गएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। सञ्चारगृहहरूले पत्रकारलाई पर्याप्त पारिश्रमिक दिएर खोजमूलक पत्रकारितामा लगानी गर्न छाडेको र समाचार एजेन्सीका सामग्रीमा निर्भर हुन थालेको उहाँको भनाइ थियो।
“सम्पादकीय परीक्षणको ढोका पार नगरेको सामग्रीलाई समाचार भन्न सकिँदैन, त्यो केवल सूचना मात्र हुन सक्छ,” डा. नेपालले भन्नुभयो। उहाँले सञ्चारमाध्यममाथि राज्यले गरेको अघोषित नियन्त्रणप्रति संकेत गर्दै नागरिक बोल्न डराउने समाजमा लोकतन्त्र फस्टाउन नसक्ने धारणा राख्नुभयो। “पत्रकारितालाई राज्यले नियन्त्रण गर्ने होइन, संरक्षण गर्नुपर्छ,” उहाँले जोड दिनुभयो।
अध्ययनकर्ता तोया गौतमले मोफसल पत्रकारिताको सन्दर्भमा काभ्रेपलाञ्चोकको अवस्थाबारे प्रस्तुति दिँदै पत्रकारिता क्षेत्रको उत्थान र विकासका लागि स्थानीयदेखि केन्द्र सरकारसम्मले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले विसं २००८ मा वीरगञ्जबाट ‘सेवा’ साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास स्मरण गराउँदै हाल काभ्रेपलाञ्चोकमा ४ दैनिक र ४३ साप्ताहिक पत्रिका दर्ता रहेको तथा तीमध्ये १६ वटा साप्ताहिक नियमित प्रकाशनमा रहेको जानकारी दिनुभयो। स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदा नागरिकको विश्वास बढ्ने उहाँको भनाइ थियो।
विशेष अतिथि तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सार्वजनिक प्रसारण संस्थाका निवर्तमान प्रमुख महेन्द्र विष्टले पत्रकारिता क्षेत्र जिम्मेवार र उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो। मिडियाको संख्या बढे पनि विषयवस्तुमा विविधता आउन नसकेको उल्लेख गर्दै उहाँले पत्रकारहरू आचारसंहिता पालनामा कमजोर देखिएको बताउनुभयो।
“लोकतन्त्रमा मिडियाको भूमिकाबारे गम्भीर समीक्षा आवश्यक छ। पत्रकारिताको महत्व अझै कायम छ, त्यसलाई कमजोर हुन दिनु हुँदैन,” उहाँले भन्नुभयो। प्रविधिले पत्रकारितालाई सहज बनाए पनि पत्रकारहरूको सिर्जनशीलता कमजोर बन्दै गएको भन्दै आफ्नो कर्तव्य र दायित्वप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा लक्ष्मीप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल, नेपाल बार एसोसिएसन काभ्रेका अध्यक्ष हरिशरण दाहाललगायतले धारणा राख्नुभएको थियो। अध्यक्ष दाहालले समाजका विकृति र विसंगतिबारे सत्यतथ्य सूचना प्रवाह गर्न पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले पत्रकारिता क्षेत्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालको प्रभावले पत्रकारिताको गुणस्तर कायम राख्न थप चुनौती सिर्जना गरेको बताउनुभयो। संघीयता कार्यान्वयनपछि मिडिया हाउसहरूको आम्दानी घटेको र पत्रकारिता पेशाप्रति नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको उहाँको भनाइ थियो।
सम्पादक समाज नेपालका संरक्षक किरण वैद्यले विगतका पत्रकारहरू तुलनात्मक रूपमा बढी जिम्मेवार रहेको उल्लेख गर्दै केही व्यक्तिका कारण समग्र पत्रकारिता क्षेत्र बदनाम हुन पुगेको टिप्पणी गर्नुभयो। नागरिकले पनि पत्रकारलाई सचेत र जिम्मेवार बनाउन सकारात्मक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो।
सहभागीहरूको तर्फबाट केशवराज पौडेलले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने विशेष कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेलले पत्रकारिता अझै बिग्रिनसकेको तर आत्मसमीक्षा र सचेतना आवश्यक रहेको बताउनुभयो।
पत्रकार ज्योति श्रेष्ठले महिला पत्रकारहरूको सहभागिता बढाउन पहल गर्न आग्रह गर्नुभयो भने पत्रकार ईश्वरी राजकुमार मैनालीले पत्रकारिताभित्र रहेका कमजोरी सुधार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। पत्रकार भीम गौतमले सामाजिक सञ्जाललाई पूर्ण रूपमा रोक्न नसकिए पनि जिम्मेवार पत्रकारितामार्फत त्यसका नकारात्मक प्रभाव नियन्त्रण गर्न सकिने बताउनुभयो।
काभ्रेपलाञ्चोकका सक्रिय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सम्पादक समाज नेपालका उपाध्यक्ष तथा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले स्थानीय आवश्यकतालाई नीतिनिर्माण तहसम्म पुर्याउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो।