दोहा, कतार ।
नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले भाषा, संस्कार र संस्कृति नेपालीहरूको पहिचान र अस्तित्वको आधार स्तम्भ भएको बताउनुभएको छ। कतारमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली भाषा र संस्कृतिको संवर्द्धनमा जोड दिनुभएको हो।
आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती समारोह, प्रख्यात गजल गायक राज सिग्देलको विशेष "सुमधुर गजल साँझ"तथा नवोदित साहित्यिक वाचनालय कतारको १८औँ अधिवेशन, साहित्यिक वाचन शृङ्खलाको १७१औँ डवली कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
भानु जयन्ती को पावन अवसरमा दूतावासको तर्फबाट हार्दिक शुभकामना तथा धन्यवाद व्यक्त गर्दै कार्यवाहक राजदूत राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट सम्पूर्ण नेपालीहरूलाई एकताको सूत्रमा आबद्ध गर्न अतुलनीय योगदान पुर्याएको स्मरण गर्नुभयो।
कार्यक्रममा बोल्दै उहाँले "आदिकवि भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरेर जुन गुन लगाउनुभयो, त्यसले नेपाली भाषालाई जनस्तरसम्म पुर्याउन ठूलो मद्दत गर्यो। नेपाली भाषालाई माया गर्नु भनेकै आफ्नो राष्ट्रलाई माया गर्नु हो।"
कार्यवाहक राजदूत राईले प्रवासमा रहे पनि आफ्नो मौलिकता बिर्सन नहुने धारणा राख्नुभयो। भाषा र संस्कृतिको रक्षाले नै नेपालीहरूको अस्तित्व सुरक्षित रहने चर्चा गर्दै उहाँले भाषामा शुद्धता ल्याउनु पर्ने र यसलाई अन्तरहृदय देखि नै माया र सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।
समारोहमा कतारमा क्रियाशील विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, साहित्यकार सहित आम प्रवासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ ।