दोहा, कतार
कतारमा सक्रिय साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालय कतारको १८औँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले शोभाराम ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। ओली यसअघि पनि संस्थाको अध्यक्ष थिए।
निर्वाचन समितिका संयोजक दिलीप पराजुलीले नवगठित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। चयन भएको नयाँ कार्यसमिको प्रथम उपाध्यक्षमा शिव सुवेदी, द्वीतीय उपाध्याक्ष पूर्ण कान्छा गुरुङ,मोबाइल पुस्तकालय गोविन्द उदासी, महासचिव सुजाता डिसी र सचिव पाण्डव थापा मगर, कोषाध्यक्ष राम प्रसाद लुइँटेल ( आत्मरमानन्द )सह कोषाध्यक्ष राजु सुवेदी ( जेम्राज ) रहेका छ्न ।
सदस्यहरूमा गणेश बस्याल,पवन गुरुङ,योगेन्द्र सुवेदी,सरुजा कार्की,रिता ढुङ्गेल र मिन थापाको कार्यसमिती बनेको हो ।
प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा साँझ ६ बजेदेखि सुरु भएको उक्त कार्यक्रम नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष शोभाराम ओलीको सभापतित्व रहेको थियो।
आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गर्दै सुरु भएको कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष पूर्ण कान्छा गुरुङले स्वागत मन्तव्य राखेका थिए भने साहित्यकार सीताराम थापाले भानुभक्तको जीवनीमाथि प्रकाश पारेका थिए। कार्यक्रममा ३ वटा साहित्यिक कृति सार्वजनिक गरिएको थियो, जसको बारेमा साहित्यकार प्रेम प्रसाद भट्टराईले जानकारी गराएका थिए।
कार्यक्रमको विशेष सत्रमा नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष सानू थपलियालाई "स्रष्टा" सम्मान अन्तर्गत दोसल्ला ओढाएर सम्मानपत्र सहित विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली सुगम सङ्गीतका चर्चित गायक राज सिग्देलको एकल गायन रहेको "सुमधुर गजल साँझ" आयोजना गरिएको थियो।
गायक सिग्देलले देशभक्तिपूर्ण गीत 'देशले रगत मागे, मलाई बलि चढाऊ' बाट आफ्नो प्रस्तुति सुरु गरेका थिए। त्यसपछि उनले 'तिमीलाई अरू सँग देख्दा', 'म रोए पनि तिमी हाँसी राख्नु', 'बनै खायो डडेलोले' र 'देउता किन किन तिम्रो तस्बिर' लगायतका करिब एक दर्जन लोकप्रिय गीत तथा गजलहरू प्रस्तुत गरेर दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए।
विशेष गरी उनको सर्वाधिक लोकप्रिय कालजयी गीत 'ऊ जितेर गई या हारेर' गाउँदा उपस्थित दर्शकदीर्घाबाट 'वान्स मोर' को हुटिङसहित हल नै गुञ्जायमान भएको थियो। नेपाली सङ्गीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदान र कतारमा रहेका नेपालीहरूलाई साङ्गीतिक मनोरञ्जन दिलाएबापत गायक सिग्देललाई खादा, दोसल्ला र सम्मान पत्रद्वारा विशेष सम्मान समेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले भाषा, संस्कार र संस्कृति नेपालीहरूको पहिचान र अस्तित्वको आधार स्तम्भ भएको बताए । कार्यक्रम लाई सम्बोधन गर्दै राइले नेपाली भाषा र संस्कृतिको संवर्द्धनमा जोड दिनुपर्ने बताए ।
उन्ले "आदिकवि भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा रूपान्तरण गरेर जुन गुन लगाउनुभयो, त्यसले नेपाली भाषालाई जनस्तरसम्म पुर्याउन ठूलो मद्दत गरेको बताउदै, नेपाली भाषालाई माया गर्नु भनेकै आफ्नो राष्ट्रलाई माया गर्नु हो।"भन्ने आसाय व्यक्त गरे ।
कार्यक्रमका सभापति एवं पुन: निर्वाचित अध्यक्ष ओलीले संस्थाको उन्नति र नेपाली साहित्यको प्रवर्द्धनमा एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । साथै, कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा दर्शकहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरे ।"
"कार्यक्रमको सहजीकरण, सोम थापाले गरेका थिए ।
अनेसास नवोदित साहित्यिक वाचनालयको १७१औँ डबली, भानुभक्तको २१२औँ जन्मजयन्ती, नवोदितको १८औँ अधिवेशन सहित राज सिग्देलको "सुमधुर गजल साँझ" एउटै ब्यानरमा आयोजना गरिएको थियो
कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली सङ्घ-संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, साहित्यकार तथा आम प्रवासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।