दोहा, कतार
विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र जन्मथलोप्रतिको दायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको संखुवासभा समाज कतारले फेरि एकपटक मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
समाजले लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित संखुवासभा जिल्ला, धर्मदेवी नगरपालिका–०१ निवासी २२ वर्षीय सुनिल मगरको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो।
पीडित मगरको उपचारमा राहत पुगोस् भन्ने उद्देश्यले समाजले सञ्चालन गरेको सहयोग अभियानमार्फत सदस्य तथा शुभेच्छुकहरूबाट १,०५३ कतारी रियाल (नेपाली रुपैयाँ करिब रु. ४३,०००) संकलन भएको थियो। उक्त संकलित रकम समाजका पूर्व कोषाध्यक्ष पदम तामाङमार्फत पीडित परिवारलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको समाजले जनाएको छ।
संखुवासभा समाज कतारले स्थापना कालदेखि नै प्राकृतिक विपद्, स्वास्थ्य समस्या, शिक्षा तथा विभिन्न सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा आफ्नो क्षमताअनुसार निरन्तर सहयोग पुर्याउँदै आएको छ। विदेशमा रहेका संखुवासभाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गराउँदै जन्मभूमिमा आइपर्ने दुःख, पीडा र समस्यामा सक्दो सहयोग पुर्याउने अभियानलाई समाजले निरन्तरता दिँदै आएको छ।
आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा अन्य सामाजिक सेवामूलक क्षेत्रमा आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समाजले व्यक्त गरेको छ।
साथै, यस मानवीय एवं परोपकारी अभियानमा आर्थिक तथा नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगी मनहरूप्रति संखुवासभा समाज कतारले हार्दिक धन्यवाद व्यक्त गर्दै विशेष आभार प्रकट गरेको छ।