दोहा, कतार
नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारले "श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम" सम्पन्न गरेको छ।
कतारको सनैयास्थित सिलौटा रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रम मञ्चका अध्यक्ष अफसर अलि खानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निवर्तमान अध्यक्ष चुडामणि कार्की, पूर्व अध्यक्ष प्रभात त्रिपाठी, तथा मञ्चका अन्तर्राष्ट्रिय कमिटी सचिव एवम् संगठन विभाग प्रमुख चानक पोख्रेललगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा ज्ञात-अज्ञात सहिद तथा हालैको प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण गरियो।
मौनधारणपश्चात् मञ्चका अध्यक्ष तथा उपस्थित अग्रजहरूद्वारा दीप प्रज्वलन गरिएको थियो। दीप प्रज्वलनका क्रममा सो दीप केवल दिवङ्गत आत्माहरूप्रति श्रद्धाको प्रतीक मात्र नभई पीडित परिवारका लागि आशा, सहारा, मानवीय संवेदना र सङ्कटको घडीमा नेपाली-नेपालीबीचको एकताको प्रकाश बनोस् भन्ने कामना गरिएको थियो।
कार्यक्रममा नेपालको वर्तमान दुःखद परिस्थितिप्रति धारणा तथा श्रद्धाञ्जली मन्तव्य राख्दै वक्ताहरूले प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतार सदैव जनताको दुःखमा साथमा रहेको बताए। सम्बोधनका क्रममा वक्ताहरूले भने, "धेरै परिवार शोकमा छन्, धेरै नागरिक विस्थापित भएका छन् र धेरैले आफ्ना प्रियजन गुमाएका छन्। हामी भौगोलिक रूपमा नेपालभन्दा टाढा भए पनि हाम्रो मन, भावना र जिम्मेवारी नेपाल र विपत्मा परेका हरेक नागरिकसँगै छ।"
यसैगरी, विपद्को यस कठिन घडीमा उद्धार, राहत तथा पुनर्नस्थापनामा निरन्तर खटिनुहुने सुरक्षाकर्मी, स्वयंसेवक, जनप्रतिनिधि, सामाजिक संघ-संस्था तथा सम्पूर्ण सहयोगी हातहरूप्रति कार्यक्रमका वक्ताहरूले हार्दिक सम्मान व्यक्त गरे।
मञ्चका सचिव रघुनाथ शर्माले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष अफसर अलि खानले कार्यक्रममा उपस्थित भई दिवङ्गतहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।
सो क्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका तर्फबाट राहत स्वरूप रु. २० लाख सहयोग गर्ने प्रतिबद्धता जनाइएको र मञ्च कतारले पनि राहत सहयोग संकलन अभियान सञ्चालन गरिरहेको जानकारी गराइयो।"
