दोहा, कतार
नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरोबाट प्रभावित भएका नागरिकको उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुनरस्थापना पुर्याउने पवित्र उद्देश्यका साथ कतारस्थित भिक्टोरिया ज्वेलर्स एन्ड डायमन्डले १० लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। प्राकृतिक विपत्तिको यो कठिन घडीमा बाढीपीडितको उद्धार र तत्काल राहत सामग्री वितरणलाई तीव्रता दिन कम्पनीले ऐक्यबद्धता जनाएको हो।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी) कतारले सञ्चालन गरेको बाढीपीडित उद्धार तथा राहत कोष अभियानमा हातेमालो गर्दै कम्पनीले बिहीबार साँझ एक विशेष कार्यक्रमका बीच उक्त रकम औपचारिक रूपमा हस्तान्तरण गर्यो।
कार्यक्रममा एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैजल भिक्टोरियाबाट प्राप्त १० लाख रुपैयाँ सहयोग रकम प्रभावित क्षेत्रका बाढीपीडितका लागि खाद्य सामग्री, आपतकालीन औषधोपचार, बालबालिकाको शिक्षा, उद्धार सामग्री तथा एकल महिलाको पुनर्स्थापनामा खर्च गरिने जानकारी दिए। अध्यक्ष पन्थीका अनुसार सो रकम एनआरएनए आइसिसीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी पारदर्शी रूपमा प्रभावितहरूसम्म पुर्याइनेछ। प्रवासमा रहेर पनि नेपाली समुदायलाई परेको दुःखमा यसरी उद्धार र राहतका लागि अघि सर्ने भिक्टोरिया ज्वेलर्सको मानवीय सहयोगलाई सधैं स्मरण गरिने उनले बताए।
रकम हस्तान्तरणका साथै भिक्टोरिया ज्वेलर्सका सञ्चालक मोहम्मद फैजल भिक्टोरियाले बाढी-पहिरो प्रभावित परिवारका १० जना युवा-युवतीलाई दीर्घकालीन राहत स्वरूप रोजगारी दिने ठूलो घोषणा समेत गरेका छन्। नेपालको काठमाडौंमा आफ्नो नयाँ शाखा विस्तारको तयारी भइरहेको जानकारी दिँदै उनले पीडित परिवारको योग्यता, चाहना र आवश्यकता अनुसार नेपाल, कतार वा दुबईका शाखाहरूमा रोजगारीको अवसर मिलाइने प्रतिबद्धता जनाए।
यस्तै, भिक्टोरियाका ब्रान्ड प्रवर्धन संयोजक तथा एनसिसी कतारका उपाध्यक्ष रोशन अर्यालले संस्थाले आगामी दिनमा बाढीपीडित परिवारका लागि सुरक्षित घर निर्माण र विकट क्षेत्रका क्षतिग्रस्त विद्यालय सुधारमा समेत सहयोग हात बढाउने योजना रहेको बताए। विपद्को बेला अग्रपंक्तिमा रहेर सहयोग गर्ने यस्ता परोपकारी संस्थालाई नेपाली समुदायले पनि व्यवसायिक रूपमा सधैं साथ र प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
सन् २०१२ देखि सुन, चाँदी तथा हिराका गहना व्यवसायमा कतारमा स्थापित भिक्टोरिया ज्वेलर्सले दुख र विपत्तिको घडीमा नेपाली समुदायको उद्धार र राहतमा निरन्तर साथ दिँदै आएकोमा कार्यक्रमका अन्य वक्ताहरूले समेत उच्च प्रशंसा गर्दै आभार प्रकट गरेका थिए। उक्त सहयोग हस्तान्तरण तथा राहत कार्यक्रमको सहजीकरण एनसीसी कतारका महासचिव शिव भुजेलले गरेका थिए।