दोहा, कतार ।
नेपालमा आएको विनाशकारी बाढीपहिरो तथा भोटेकोशीका बाढीपीडितको राहत र पुनःस्थापनाका लागि कास्की आदर्श समाज कतारले १ लाख ७९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संस्थागत सहभागिता जनाउँदै आफ्नै पहलमा संकलन गरिएको उक्त रकम एकमुष्ट रूपमा ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा हुने गरी हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष अग्निधर देवकोटाले जानकारी दिए।
दुई अभियानमार्फत कोषमा रकम हस्तान्तरण
संस्थाले संकलन गरेको कुल रकमलाई दुई मुख्य अभियानमार्फत राहत कोषमा पठाएको छ:
- कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् द्वारा सञ्चालित भोटेकोशी बाढीपीडित सहयोग अभियानमा: रु. १,१५,५५५/-
- गण्डकी प्रदेश समन्वय परिषद् कतार तथा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् कतार को संयुक्त उद्धार तथा राहत अभियानमा: रु. ६३,३३५/-
दुवै अभियानमार्फत संकलित रु. १,७९,०००/- नै अन्तिम रूपमा सम्बन्धित सरकारी राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको अध्यक्ष देवकोटाले स्पष्ट पारे।
विपद्को यस घडीमा पीडित नेपालीको साथमा उभिनु प्रत्येक सामाजिक संस्थाको कर्तव्य भएको बताउँदै अध्यक्ष देवकोटाले भने— "मानवीय सेवाको भावनासहित हामीले यो सहयोग गरेका हौँ। नेपालमा प्राकृतिक विपद् पर्दा प्रवासमा रहेका नेपाली संघ-संस्था र समुदाय एकजुट भई उद्धार र राहतमा जुट्नुपर्छ।"
कास्की आदर्श समाज कतारले सामाजिक सेवाका विभिन्न क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएको छ। यसअघि पनि प्राकृतिक विपद्मा परेका नेपालीका लागि संस्थाले पहलकदमी लिँदै आएको थियो।
सहयोग रकम संकलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सदस्य, सहयोगी तथा शुभेच्छुकहरूप्रति समाजका अध्यक्ष देवकोटाले हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। संस्थाको यस सानो प्रयासले विपद्को पीडामा परेका परिवारको पुनःस्थापनामा राहत पुग्ने विश्वास लिइएको छ।