काठमाडौँ । दक्षिण एसियाको सानो तर मौलिक संस्कार र संस्कृतिले भरिपूर्ण देश नेपाल भूगोलले सानो भए पनि आफ्ना चाडपर्व र परम्पराका माध्यमबाट विश्वभर विशाल बन्दै गएको छ। एक समय थियो, रोजगारी वा अन्य सिलसिलामा विदेश जाँदा नेपालीहरूले आफ्नो मौलिक धर्म र संस्कृति घरमै छोडेर जाने गर्थे।
तर समयले फड्को मारिसकेको छ। अहिले जागिर होस् या व्यापार–व्यवसाय, नेपालीहरू जहाँ पुग्छन्, त्यहाँ आफ्नो मौलिक धर्म, संस्कृति र चाडपर्वलाई पनि सँगसँगै लगिरहेका छन्।
यही क्रममा उज्यालोको पर्व तिहार अहिले विश्वको कुनाकुनादेखि ठूला–ठूला गगनचुम्बी भवनहरूसम्म फैलिएको छ। अध्यागमन विभागले यसै वर्ष सार्वजनिक गरेको तथ्याङ्कले पनि नेपालीहरूको विश्वव्यापी उपस्थितिलाई पुष्टि गरेको छ। विभागको तथ्याङ्कअनुसार सन् २०२५ मा नेपाली नागरिकहरू विश्वका २३१ देश तथा क्षेत्र/भूभागमा पुगेका छन्। नेपालीहरू पुगेका संसारका यी सबैजसो स्थानमा अहिले तिहारको रौनक छाउने गरेको छ।
तिहार मान्ने समुदायको विश्वव्यापी विस्तारसँगै संसारले यस पर्वलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर समेत पाएको छ । तिहार केवल धार्मिक उत्सव मात्र नभई प्रकृति, पर्यावरण र जीवजन्तुको पूजासँग पनि जोडिएकाले विश्व समुदायका लागि नै अनुकरणीय बन्न पुगेको छ।
"तिहार पर्वले दाजुभाइ र दिदीबहिनीबीच एक–अर्कालाई सम्झने र सौहार्दपूर्ण सम्बन्ध प्रगाढ बनाउने भएकोले पनि धेरैको ध्यान तानेको छ,"
अन्य चाडपर्वको तुलनामा तिहारको सामाजिक र मनोरञ्जनात्मक पक्ष अझ फराकिलो रहेको छ। "
विशेषगरी दीप प्रज्वलन गरी असाध्यै उमङ्ग र उज्यालोका साथ धनकी देवी लक्ष्मी भित्र्याउने परम्पराले विदेशी नागरिकहरूलाई समेत लोभ्याएको पाइन्छ।
प्रवासमा रहेका नेपालीहरूले देउसी–भैलो खेल्दै, सेलरोटी पकाउँदै र झिलिमिली बत्ती बाल्दै मनाउने तिहारले सात समुद्रपारि पनि नेपालकै झल्को दिने गरेको छ।