राधेश्याम विश्वकर्मा, नेपाल न्यूज बैंक
रुपन्देही । सूर्यदेव र छठी माताको आराधना गरी मनाइने आस्थाको महापर्व छठलाई लक्षित गर्दै भैरहवा तथा आसपासका क्षेत्रमा तयारी तीव्र पारिएको छ । छठ पर्व नजिकिएसँगै पूजा स्थलको सरसफाइ, घाट तथा बेदी निर्माण, शान्ति सुरक्षा र सवारीसाधन पार्किङ व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।
रुपन्देहीको सिद्धार्थनगरस्थित श्रीराम जानकी हनुमान मन्दिर परिसर, कालीभक्ति गण, गोनहिया, बालापिर लगायतका छठ घाटहरुमा छठ पूजाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको व्यवस्थापन समितिले जनाएको छ । छठ पर्वमा हजारौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षासहित समितिले पूजा व्यवस्थापनदेखि सुरक्षा र यातायात व्यवस्थापनसम्मका कामलाई तीव्रता दिएको हो ।
श्रीराम जानकी हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र रौनियारले छठ पर्वका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज रूपमा पूजा आराधना गर्ने वातावरण बनाउन बेदी निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
पर्वमा सहभागी हुने भक्तजनको भीडलाई व्यवस्थित गर्न पार्किङको उचित प्रबन्ध मिलाइएको र शान्ति सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको अध्यक्ष रौनियारले बताए । उनले पर्वका क्रममा कुनै असहज अवस्था सिर्जना हुन नदिन आवश्यक सतर्कता अपनाइएको उल्लेख गरे ।
अध्यक्ष रौनियारले राज्य, धर्म र संस्कृतिलाई राजनीतिसँगै जोडेर नभई आपसी सहकार्य र सम्मानका साथ अगाडि बढाउन सरकारसँग आग्रह गरे । नेपाली समाजको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थाले सामाजिक एकता तथा राष्ट्रिय सद्भावलाई बलियो बनाउने उनको भनाइ छ ।
यस्तै गोनहिया छ्ठ पूजा समितिका अध्यक्ष विरेन्द्र कुर्मीले गोनहियामा विगत ५ वर्ष देखि स्थाइ वेदीहरु निर्माण गरि छठ पूजा गरिएको बताए । उनले छठ पूजामा ब्रतालु महिलाहरुलाइ ख्याल गरि लखनउबाट जागरण टोलीको विषेश प्रस्तुति रहने बताए ।