दोहा, कतार — नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको सुअवसर पारेर कतारमा सक्रिय विभिन्न साहित्यिक संस्थाहरू र गैरआवासीय नेपाली संघ कतारको साहित्य विभागको संयुक्त आयोजनामा विशेष साहित्यिक रचना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
‘अनेसास–नवोदित साहित्यिक रचना वाचन डबली’ को १७४औँ शृङ्खला, ‘सन्ध्या-ग्रुप मुग्लानी सौगात’ को १०६औँ वाचन डबली तथा महाकवि देवकोटाको जन्मजयन्ती र विशिष्ट श्रोता विशेष रचना वाचन कार्यक्रमलाई शुक्रबार एकसाथ संयुक्त रूपमा मनाइएको हो।
१३ नोभेम्बर २०२६ शुक्रबारका दिन मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टमा ठिक दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म चलेको उक्त कार्यक्रम अनेसास कतार च्याप्टर, नवोदित साहित्यिक वाचनालय कतार, सन्ध्या ग्रुप अल्खोर कतारको साहित्य विभाग र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति कतारको साहित्य विभागको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
अनेसास कतारका अध्यक्ष तथा लक्ष्मी जयन्ती कार्यक्रम संयोजक दिलीप पराजुलीको सभापतित्व एवं अनेसास कतारका संस्थापक अध्यक्ष दीपक भेटवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनआरएनए कतारका साहित्यिक विभाग संयोजक सुजन गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा सन्ध्या ग्रुप कतारअन्तर्गत रहेको साहित्यिक विभाग ‘मुग्लानी सौगात’ का कार्यवाहक अध्यक्ष सन्तोष केसीले महाकवि देवकोटाको जीवनी वाचन गर्नुभएको थियो भने नवोदित साहित्यिक वाचनालय कतारका कार्यवाहक अध्यक्ष पूर्ण कान्छा गुरुङ लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दीपक भेटवालले संस्था स्थापना गर्दाको सुरुवाती दिनका अनुभवहरू स्मरण गर्नुभयो। स्थापनाकालदेखि लामो समयसम्म संस्थाले आफ्नो मूल घरको आभास दिलाएको उल्लेख गर्दै उहाँले विगतमा कतारमा रहेर साहित्यिक योगदान पुर्याएका विभिन्न कवि तथा स्रष्टाहरूको समेत याद गर्नुभयो। हरेक महिना निरन्तर सञ्चालन हुँदै आएको साहित्य वाचन शृङ्खलालाई आजको यस उचाइसम्म ल्याइपुर्याउने सम्पूर्ण अभियन्ताहरूप्रति उहाँले विशेष धन्यवाद प्रकट गर्नुभयो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको पावन अवसरमा आफूलाई निमन्त्रणा गरिएकोमा आभार व्यक्त गर्दै भेटवालले लामो समयदेखि आफ्नो साहित्यिक यात्रा केही ठप्प रहे पनि आगामी दिनमा पुनः आफ्नो सिर्जनात्मक यात्रालाई सुचारु गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा कतारमा क्रियाशील साहित्यकार, विशिष्ट श्रोता, पत्रकार तथा नेपाली भाषा, साहित्य र सिर्जनामा रुचि राख्ने सर्जक एवं शुभेच्छुक महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागी स्रष्टाहरूले महाकवि देवकोटाको योगदानको स्मरण गर्दै आ–आफ्ना सिर्जना वाचन गरेका थिए। सोही अवसरमा नेपालीहरूको महान् पर्व तिहारको खुसियाली साट्दै देउसी–भैलोसमेत खेलिएको थियो, जसले कार्यक्रममा थप सांस्कृतिक रौनक थपेको थियो।
प्रवासको व्यस्तताका बाबजुद पनि नेपाली भाषा, कला, साहित्य र सिर्जनाको जगेर्ना तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका यी चार संस्थाहरूले विगत लामो समयदेखि यसरी नै हातेमालो गर्दै एकता र सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। सोम थापाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमले कतारको नेपाली साहित्यिक वातावरणलाई थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।