दोहा, कतार — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरका अध्यक्ष दिलीप पराजुलीले साहित्यिक संस्थालाई निजी स्वार्थ र व्यक्तिगत हिसाबकिताबसँग जोडेर हेर्दा संस्थाको गरिमा र मर्यादा नै गुम्न सक्ने चेतावनी दिनुभएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा कतारमा सक्रिय चार साहित्यिक संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न विशेष साहित्यिक कार्यक्रममा बोल्दै कार्यक्रम संयोजकसमेत रहनुभएका पराजुलीले यस्तो धारणा राख्नुभएको हो।
जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न सामाजिक संघ–संस्थाहरूको आ–आफ्नै पहिचान र उद्देश्य हुने उल्लेख गर्दै उहाँले साहित्यिक संस्थाको मर्मलाई पनि सोहीअनुसार बुझ्नुपर्ने बताउनुभयो। पराजुलीले भन्नुभयो, “व्यक्तिगत विषय र संस्थागत विषयलाई सदैव छुट्टाछुट्टै राखेर हेर्नुपर्छ। संस्थालाई निजी स्वार्थको तराजुमा जोख्ने प्रवृत्तिले कसैको भलो गर्दैन।”
साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले एकअर्काको योगदान, सम्मान र प्रतिष्ठालाई कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। संस्थामा कसको के भूमिका छ भन्ने विषय संस्थाले विधिवत् रूपमा स्वीकार गरेको हुने स्पष्ट पार्दै उहाँले संस्थापकहरूको योगदानको उच्च कदर गर्नुभयो। अग्रज संस्थापकहरूको समर्पणकै कारण संस्था आजको अवस्थासम्म आइपुगेको बताउँदै उहाँले सोही सम्मानस्वरूप अनेसासका संस्थापक अध्यक्ष दिपक भेटवाललाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्ताएको बताउनु भयो ।
१३ नोभेम्बर २०२६ शुक्रबारका दिन दोहाको मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टमा दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म उक्त कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रम अनेसास कतार च्याप्टर, नवोदित साहित्यिक वाचनालय कतार, सन्ध्या ग्रुप अल्खोर कतारको साहित्य विभाग र गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति कतारको साहित्य विभागको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रममा उपस्थित विभिन्न स्रष्टाहरूले महाकवि देवकोटाको स्मरण गर्दै आ–आफ्ना सिर्जनात्मक रचनाहरू वाचन गर्नुभएको थियो। प्रवासमा नेपाली भाषा र साहित्यको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।