दोहा (कतार) — सुनुवार सेवा समाज शाखा, कतारको १७औँ वार्षिक उत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कतारको वाकिरस्थित DPS School Auditorium मा आयोजित कार्यक्रममा लोकप्रिय गायिका मेलिना राईको दमदार प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
प्रवासमा रहेका नेपाली दर्शक तथा संगीतप्रेमीहरूलाई आफ्ना चर्चित गीतहरूमार्फत नचाउन कतार आइपुग्नुभएकी गायिका राई मञ्चमा उक्लिनुभएसँगै हलको माहोल थप उत्साहमय बनेको थियो। उहाँले करिब एक घण्टा मञ्चमा उक्लिएर 'कुटुमा कुटु', ‘कम्मरमाथि पटुकी’, ‘माछीले खाने खोलीको लेउ’, ‘झ्याम पारम’, ‘मैयाँ राम्री हो कि रेशम’, ‘मै प्यारो हो कि रेशम’ लगायतका आफ्ना चर्चित गीतहरू पस्किनुभएको थियो। ती गीतहरू प्रस्तुत गर्दा दर्शकदीर्घाबाट निरन्तर ताली र हुटिङ गुञ्जिएको थियो भने दर्शकहरू झुम्दै नाचेर कार्यक्रमलाई अझ जीवन्त बनाउनुभएको थियो।
कार्यक्रमको समुद्घाटन संस्थाका अध्यक्ष गङ्गाबहादुर सुनुवारको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको थियो। उद्घाटन सत्रमा किराती समुदायको मौलिक संस्कृति, पहिचान र परम्पराप्रति सम्मान प्रकट गर्दै सभापति, प्रमुख अतिथि लगायतलाई सेतो फेटा पहिर्याएर विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थापक तथा संरक्षक पुरुषोत्तम सुनुवारले प्रवासमा नेपाली कला, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रष्ट पार्नुभयो। द्वितीय उपाध्यक्ष दिपा सुनुवारले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कलाकार सीमा मगर, सृजना तामाङ, सोनिका तामाङ र कञ्चन शेर्पाले सामूहिक स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो।
आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि राकेश श्रेष्ठले प्रवासमा रहेका आदिवासी जनजाति तथा सम्पूर्ण नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचान जोगाउन यस्ता उत्सवहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
गायिका मेलिना राईको विशेष सांगीतिक प्रस्तुतिसँगै कार्यक्रममा मौलिक झाँकी तथा कतारमै सक्रिय स्थानीय नेपाली कलाकारहरूको विविध सांगीतिक एवं सांस्कृतिक प्रस्तुतिले थप रौनक थपेको थियो।
महासचिव बिनिता सुनुवार र कमल बिक्रम सुनुवारले संयुक्त रूपमा सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा सभापति गङ्गाबहादुर सुनुवारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, स्वयंसेवक तथा उपस्थित दर्शकहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो।
कार्यक्रममा तमु गुरुङ समाज दोहा कतार द्वारा गायिका मेलिना लाई विशेष सम्मान गरिएको थियो ।
