दोहा, कतार । “सामाजिक परिवर्तन समृद्धिको आधार” भन्ने मूल नाराका साथ कोशी प्रदेश समन्वय परिषद्, कतारको पाँचौँ अधिवेशन तथा ९औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ। शुक्रबार प्लाजा मलस्थित मेसक्याफे रेस्टुरेन्टमा आयोजित विशेष भेलाले सन् २०२६–२०२७ कार्यकालका लागि भीम बराईलीको नेतृत्वमा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
निर्वाचन संयोजक केशव कार्कीले घोषणा गर्नुभएको नामावलीअनुसार नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपीकृष्ण अधिकारी चयन हुनुभएको छ। त्यसैगरी, प्रथम उपाध्यक्षमा शिवकुमार खत्री, द्वितीय उपाध्यक्षमा महेन्द्र कार्की र तृतीय उपाध्यक्षमा महेन्द्र प्रसाद उप्रेती सर्वसम्मत निर्वाचित हुनुभएको छ।
समितिको महासचिवको जिम्मेवारी पूर्ण कान्छा गुरुङले प्राप्त गर्नुभएको छ भने सचिवहरूमा तोरण बस्नेत, केदार पौडेल र भवानी प्रसाद ओझा चयन हुनुभएको छ। यस्तै, कोषाध्यक्षमा रबिनराज काफ्ले र सह–कोषाध्यक्षमा तेज बहादुर न्यौपाने सर्वसम्मत हुनुभएको छ।
नवगठित कार्यसमितिका सदस्यहरूमा जयशंकर प्रसाद शाह, योगेन्द्र बराल, खड्ग बहादुर बस्नेत, सरोज खपाङ्गी मगर, शक्तिराज दाहाल, श्यामबाबु आचार्य, भुपेन्द्र भारती, गणेश खड्का, रबिना पुलामी मगर, गौतम समि लिम्बू, रोजिना खत्री, दिपेन्द्र बोहरा र विवेक भुजेल रहनुभएको छ।
परिषद्का निवर्तमान अध्यक्ष रुद्र शर्मा आचार्यको सभापतित्व तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको थियो।
निवर्तमान महासचिव महेन्द्र उप्रेतीले सहजीकरण गर्नुभएको उक्त औपचारिक समारोहमा परिषद्का प्रमुख सल्लाहकार पदम घिमिरे, समाजसेवीद्वय चानक पोख्रेल र सागर नेपाल लगायत कोशी प्रदेशअन्तर्गत आबद्ध जिल्ला संस्थाका प्रतिनिधिको शुभकामना मन्तव्य रहेको थियो।
औपचारिक सत्रसँगै कार्यक्रममा मौलिक कला र संस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुतिहरूले रौनक थपेका थिए। स्वागत नृत्यबाट सुरु भएको सांस्कृतिक चरणमा झापाली समाज कतारले सन्थाल जातिको मौलिक नृत्य प्रस्तुत गरेको थियो भने धनकुटा सेवा समाज कतारले मौलिक हुर्रा नाच तथा देउसी प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। साथै, स्थानीय कलाकारहरूले आधुनिक तथा चलचित्रका गीत–संगीत र नृत्यसमेत प्रस्तुत गरेका थिए।

समारोहको समापन गर्दै निवर्तमान अध्यक्ष एवं सभापति रुद्र शर्मा आचार्यले अधिवेशन तथा स्थापना दिवसलाई ऐतिहासिक रूपमा सफल पार्न भूमिका खेल्ने प्रमुख अतिथि, अतिथि वक्ता, कलाकार, निर्वाचन समिति तथा उपस्थित सम्पूर्णमा हार्दिक आभार प्रकट गर्नुभएको थियो।