काठमाडौं ।पत्रकार गणेश क्षेत्रीले धर्म, आस्था र मानवताको गहिरो सन्देश बोकेको भजन शैलीमा लोकगीत ‘जन्म दिने बाउ आमा’ बोलको गीत सार्वजनिक गरेका छन।
पत्रकार, गीतकार तथा संगीतप्रेमी गणेश क्षेत्रीको शब्द, संगीत तथा लयमा तयार भएको यस गीतले पछिल्लो समय समाजमा बढ्दै गएको बाबा–आमाप्रतिको उपेक्षा, दुर्व्यवहार र देखावटी धार्मिक संस्कारमाथि गम्भीर प्रश्न उठाएको छ।
सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालिको प्रस्तुतिमा तयार भएको गीतले मन्दिर, गुम्बा, चर्च, मस्जिद र गुरुद्वारालाई आस्थाका केन्द्रका रूपमा सम्मान गर्दै पनि संसारमा सबैभन्दा ठूलो तीर्थ, सबैभन्दा ठूलो धर्म र सबैभन्दा ठूलो भगवान् आफ्नै बाबा–आमा भएको सशक्त सन्देश दिएको छ।
गीतका शब्दहरूमा बाबाको संघर्ष, त्याग र बलिदान तथा आमाको माया, वात्सल्य र स्नेहलाई अत्यन्त मार्मिक रूपमा चित्रण गरिएको छ। "मेरो भगवान् बुवा हौ हजुर" र "साक्षात देवी मेरो त माता हौं" जस्ता हरफहरूले जन्मदिने अभिभावकप्रति सम्मान र कृतज्ञताको भावना जागृत गराउँछन्।
लामो समयदेखि वैदेशिक भूमी कतारमा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय गणेश क्षेत्रीले समाजमा बढ्दो वृद्धाश्रम संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै यो गीत सिर्जना गरेका हुन्। उनका अनुसार आज धेरै मानिसहरू धार्मिक स्थलमा पूजा गर्न पुग्छन्, तर आफ्नै घरका बाबा–आमाको सम्मान र सेवामा भने चुकेका छन्। यही यथार्थलाई उजागर गर्दै गीतले सन्तानलाई आफ्नो पहिलो कर्तव्य सम्झाएको छ।
गीतमा गणेश क्षेत्री र गायिका देवी घर्तीको स्वर रहेको छ भने संगीत संयोजन पूर्ण संयोगले गरेका छन्। मुर्चुङ्गा रेकर्डिङ स्टुडियो, अनामनगरमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट गोविन्द ओली र मिक्सिङ रामु बिरहीले गरेका हुन्।
भिडियोतर्फ निर्देशक कपिल कार्कीले भावनात्मक कथा प्रस्तुत गरेका छन्। भिडियोमा गणेश क्षेत्री, लक्ष्मण विक्रम बस्नेत, सोनी कंडेल र कविता खड्काको अभिनय रहेको छ भने सम्पादन नवीन डाँगीले गरेका छन्।
त्यसैगरी यो गीत निर्माणका क्रममा गायिका बसन्ती लामा, बरिस्ठ पत्रकार तिल विक्रम थेबे,पत्रकार सन्तोष केसी, निरु थापा ,सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङ,झरना मिडियाका संचालक टीएन धमला लगायत विभिन्न ब्यक्तिहरुको ठुलो सहयोग रहेको छ भने यस भिडियो छायांकनका क्रममा पञ्चकुमारी मन्दिर सिनामंगल काठमाडौ परिवारले विशेष साथ दिएको छ र सम्पुर्ण सहयोगी ब्यक्तिहरु प्रती गायक गणेश क्षेत्रीले धन्यबाद ब्यक्त गरेका छन।
यो गीतलाई गणेश क्षेत्रीले आफ्नै अफिसियल युट्युब च्यानल Ganesh kshetri बाट सार्बजनिक गरेका छन।
सम्पुर्ण बिश्वभरिका बा आमा प्रती माया र सद्भाव राख्नुहुने सम्पुर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाई सबैले एकपटक सुनिदिन पनि गायक क्षेत्रीले आग्रह गरेका छन।
‘जन्म दिने बाउँआमा’ केवल एउटा गीत होइन, समाजलाई आफ्ना बाबा–आमाको सम्मान, सेवा र मायाप्रति जागरुक बनाउने एउटा सामाजिक अभियान हो। गीतले स्पष्ट रूपमा सन्देश दिन्छ— "भगवान् खोज्न टाढा जानुपर्दैन, जीवन दिने बाबा–आमा नै हाम्रा सच्चा र जीवित भगवान् हुन्।"
"जुन हातले तपाईंलाई हिँड्न सिकायो, आज ती हात समाउन बिर्सिनुभयो भने मन्दिरमा बालेको हजारौँ बत्तीको पनि कुनै अर्थ रहँदैन।"
पूरा भिडियो हेर्नुहोस:https://youtu.be/izukKYwjtx0?si=8UVpj0mgyslLVWrp