दोहा, कतार
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा वैदेशिक रोजगारीका बाध्यता, पीडा र युवावस्थाको सम्झौतालाई मुख्य विषयवस्तु बनाइएको मार्मिक तीज गीत ‘परदेशैले’ सार्वजनिक भएको छ।
‘नयन शर्मा अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले खाडी मुलुकलगायत प्रवासमा पसिना बगाइरहेका लाखौँ नेपाली युवाहरूको प्रतिनिधि भावनालाई उजागर गरेको छ।
विशेष सांगीतिक संयोजन रहेको यस गीतमा कतारमा रहेका आठ जना गायक-गायिकाको सामूहिक स्वर सुन्न सकिन्छ। गीतमा नारायण देवकोटा, बाबु कौशल, कृष्ण दर्लामी, नयन शर्मा, रेश्मा सेन्चुरी, गुना मगर, लक्ष्मी कार्की र गंगा बी.सी. ले आवाज दिएका छन्।
गीतको शब्द तथा संगीत स्वयं नयन शर्माको रहेको छ भने संगीत संयोजन (अरेन्ज) सुनील परियारले गरेका हुन्।
गीतले ५० डिग्रीको चर्को घाममा पसिना बगाउन बाध्य खाडीका श्रमिकहरूको कठिन दैनिकीलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। “परदेशैले खायो मेरो बैँस उमेर” भन्ने बोलमार्फत आफ्नो ऊर्जावान् जवानी परदेशकै माटोमा समाप्त भएको भाव पोखिएको छ।
पारिवारिक जिम्मेवारी र गरिबीका कारण मुग्लान पस्न विवश श्रमिकहरूको बाहिरबाट हट्टाकट्टा देखिए पनि भित्रभित्रै रोग र मानसिक पीडाले थलिएको यथार्थलाई गीतले मार्मिक ढङ्गले उधिनेको छ।
गीतको अन्त्यतिर स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी विदेशिएका युवाहरूलाई फर्काउन सरकारसँग भावुक अपिल गरिएको छ। “फर्काइदेउ न सरकार परदेश भाकालाई” भन्ने हरफमार्फत लाखौँ श्रमिकहरूको स्वदेश फर्किने तीव्र चाहना प्रस्तुत गरिएको छ।
भिडियो निर्देशन कृष्ण सेन्चुरीले गरेका हुन्। भिडियोमा कृष्ण ढकाल, करिश्मा बास्तोला (बास्तकोटी), पुकार थापा, पुरन सिंह, जमुना बी.सी. र सुस्मिता विश्वकर्माको जीवन्त अभिनय देख्न सकिन्छ। जनक लाफा मगरको कोरियोग्राफी र सुनिल सुन्दासको छायाङ्कन तथा सम्पादनले भिडियोलाई थप प्रभावकारी बनाएको छ। कलर ग्रेडिंग राबिन बीकेले गरेका छन्।
मालाश्री (काठमाडौँ) र संगीत महल (कतार) मा रेकर्ड गरिएको यस गीतको रेकर्डिस्ट निराज थापा हुन् भने मिक्सिङ र मास्टरिङ खडक बजुरालीले गरेका छन्।
वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभावलाई उजागर गर्ने यो गीतले दर्शक र श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीत नयन शर्मा अफिसियल युट्युब च्यानलमा रिलिज भइसकेको छ .
भिडियो : https://youtu.be/mF9ODCy9aRQ?si=j-7n7H7nVpV2h-jo