‘काठमाडौं, साउन ४ —
सनातन धर्म, आध्यात्मिक जागरण तथा सदाचारको सन्देश प्रवाह गर्ने उद्देश्यले तयार पारिएको नेपाली धार्मिक भजन ‘कल्की अवतार’ सार्वजनिक गरिएको छ।
श्रावण महिनाको पहिलो सोमबार बिहान ६ः३० बजे बाबा इन्टरटेनमेन्ट टिभीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भजनमा अमेरिका बसोबास गर्दै आएका नेपाली कलाकार प्रवेश पौडेल र राजीव शर्माको स्वर रहेको छ। गीतका शब्द **नकुल ढकाल ‘नवीन’**ले रचना गरेका हुन् भने भाका सङ्कलन राजीव शर्माले गरेका छन्।
भजनमा वर्तमान समाजमा बढ्दो अधर्म, अनैतिकता, पाखण्ड तथा मानवीय मूल्यको ह्रासलाई विषयवस्तु बनाइएको छ। सत्य, त्रेता, द्वापर र कलियुगको सन्दर्भ प्रस्तुत गर्दै कलियुगमा बढ्दै गएको अन्याय, स्वार्थ र विकृतिको अन्त्यका लागि भगवान् विष्णुको दशौँ अवतार ‘कल्की’को प्रतीकात्मक आह्वान गरिएको छ।
गीतका शब्दमार्फत धर्मको आडमा हुने पाखण्ड, अन्याय तथा निर्दोषमाथि हुने अत्याचारप्रति प्रश्न उठाइएको छ। रावण, कौरव र कंसजस्ता दुष्ट पात्रहरूले कर्मअनुसार दण्ड पाएझैँ वर्तमान समाजमा पनि सत्य, न्याय र सदाचारको स्थापना हुनुपर्ने सन्देश भजनले दिएको निर्माण पक्षले जनाएको छ।
भजनमा बिबी अनुरागीको संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। रेकर्डिङ प्रिज्म रेकर्डिङ स्टुडियो तथा अमेरिकाको बाल्टिमोरस्थित यू एन्ड मी स्टुडियोमा कमल सौरागले गरेका हुन्।
भिडियोको निर्देशन गायक पौडेलले गरेका छन् भने छायांकन पशुपति बस्याल, सम्पादन तथा रङ संयोजन सुजन कोइरालाले गरेका छन्। भिडियोमा गायकद्वयसँगै अमेरिकामा रहेका नेपाली समुदायका कलाकारहरूको अभिनय समेटिएको छ।
निर्माण पक्षका अनुसार प्रवासमा रहेर पनि नेपाली धर्म, संस्कृति र आध्यात्मिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भजन निर्माण गरिएको हो। भजनले समाजमा सकारात्मक सोच, नैतिक आचरण र आध्यात्मिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
भिडियो
https://youtu.be/J06BY40wmJ8?si=0XQTo3QrXQYoSQml