दोहा, कतार। पर्वत जलजला समाज कतारको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशनका प्रमुख अतिथि रघुनाथ शर्माले संस्था स्थापना गर्नुको उद्देश्य समाजलाई विभाजन गर्नु नभई सामाजिक एकता, सहकार्य र सेवाभावका साथ सामाजिक कार्य गर्नु रहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कतारमा "पर्वत समाज"को समानान्तर संस्था गठन गरिएको हो कि भन्ने केही वक्ताहरूले राखेको आशंकाबारे स्पष्ट पार्दै आफूहरूले कसैको संस्था कमजोर बनाउन नभई सामाजिक कार्य गर्ने उद्देश्यले संस्था स्थापना गरेको बताए।
संस्थाको उद्देश्य र भूमिकाबारे उठेका जिज्ञासालाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले अग्रजहरूले संस्थाको गतिविधिबारे चासो राख्नु, सुझाव दिनु र सही बाटो देखाउनु शुभचिन्तकको जिम्मेवारी भएको उल्लेख गरे। अग्रजहरूले आफ्ना भाइहरू गलत बाटोमा नलागून् र दुई किनारामा नपुगून् भनेर सुझाव दिनु स्वाभाविक भएको भन्दै उनले प्राप्त सुझावप्रति आभार व्यक्त गरे।
शर्माले सामाजिक काम गर्नका लागि संस्थागत संरचना आवश्यक पर्ने भएकाले पर्वत जलजला समाज कतार स्थापना गरिएको स्पष्ट पारे। संस्थाको आफ्नै गरिमा र पहिचान रहेको उल्लेख गर्दै उनले यसको मूल उद्देश्य सामाजिक सेवा नै भएको बताए।
उनले कतारमा क्रियाशील विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अग्रजहरूको सुझाव र अनुभवका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। समाजभित्र कुनै मनमुटाव वा विभाजन ल्याउने पक्षमा आफूहरू नरहेको बताउँदै संस्थाले गलत बाटो समातेमा अग्रज तथा शुभचिन्तकहरूले खबरदारी गर्नसमेत आग्रह गरे।
संस्थाको आर्थिक पारदर्शिताबारे बोल्दै शर्माले सामाजिक कार्यका लागि संस्थाले हालसम्म करिब ५६ हजार कतारी रियाल बराबरको कारोबार गरेको जानकारी दिए। संस्थाले व्यवस्थित लेखा प्रणाली र कानुनी प्रक्रियालाई आत्मसात् गर्दै सामाजिक गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ थियो।
उनले संस्थाको वर्तमान कार्यसमितिमा रहेका युवाहरूले अग्रजहरूको साथ, सुझाव र सहकार्यमा संस्थालाई अगाडि बढाउन गरेको योगदानको प्रशंसा गर्दै उनीहरूको सामाजिक सेवाप्रतिको समर्पणको उच्च मूल्यांकन गरे।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष देवराज कार्कीले गरेका थिए भने सहजीकरण महासचिव बाबुराम नेपालीले गरेका थिए।
शर्माले सामाजिक संस्थाहरूबीच प्रतिस्पर्धा र विभाजनभन्दा सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।