दोहा : सामाजिक संस्था भनेको केवल नाम, दर्ता वा देखावटी उपस्थितिको विषय होइन; यो त जनताको पीडा बुझ्ने संवेदनशील चेतना र उत्तरदायी कर्मको अभिव्यक्ति हो।
आजको विश्वव्यापी आप्रवासन प्रवृत्तिमा लाखौं नेपाली श्रमिकहरू विदेशमा पसिना बगाइरहेका छन्,जसको अमूल्य योगदान मुलुकको अर्थतन्त्रको मेरुदण्ड बनेको छ। तर यिनै श्रमिकहरूको हक,अधिकार र सुरक्षालाई राज्य र संस्थागत संरचनाहरूले उपेक्षा गर्दै आएको यथार्थ गम्भीर चिन्ताको विषय हो।
यस्तो अवस्थामा "सामाजिक संस्था" को औचित्य के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्दछ।त्यो संस्था मात्र साँचो सामाजिक संस्था मानिन सक्छ, जसले निष्पक्षता,निःस्वार्थता र क्रियाशीलताका साथ श्रमिक समुदायको पक्षमा स्पष्ट धारणा राख्छ,हस्तक्षेप गर्छ र समाधानको बाटो खोज्छ।
सामाजिक कार्यको आधार दृष्टिकोण,उत्तरदायित्व र संवेदनशील व्यवहार हो।
औपचारिकता,माला,खादा र भाषण मात्र होइन। जब संस्था मौन रहन्छ,जब आवाज गुम्छ,जब पीडालाई बेवास्ता गरिन्छ—त्यो संस्था जनताको प्रतिनिधि बन्ने नैतिक हैसियत गुमाउँछ।
अब समय आएको छ।औपचारिकता र प्रदर्शनको खोल फुकालेर,कर्मशीलता र सादगीमा आधारित सामाजिक संस्कारको पुनःस्थापना गर्ने। नेतृत्व भाषणमा होइन,व्यवहारमा देखिनुपर्छ; जिम्मेवारी पदमा होइन,जनसमर्पणमा अनुभूत हुनुपर्छ।
केशवराज कार्की यही दृष्टिकोणको प्रतिक बनेर उदाएका छन जो प्रवासी समाजमा सादगी, उत्तरदायित्व र क्रियाशीलताका साथ उदाहरणीय बन्दै हुनुहुन्छ।उहाँको नेतृत्वमा संस्थाको उद्देश्य केवल पद वा प्रतिष्ठाको विषय होइन,सङ्गठित चेतना र समाज परिवर्तनको स्पष्ट मार्गचित्र हो।
हामीले बुझ्नैपर्ने कुरा के हो भने,मुस्कान युगान्तकारी हुन्छ,जब त्यो पीडालाई बुझेर वर्गीय आत्मबलबाट उत्पन्न हुन्छ।संगठित सोच,वैचारिक दृढता र मूल्यमा आधारित नेतृत्व नै आजको समाजलाई अग्रगमनतर्फ डो-याउने मूलमन्त्र हुन्।
उहाँको यात्रा सैद्धान्तिक स्पष्टता र व्यवहारिक इमानदारीमा आधारित रहोस्।
उहाँ हरेक दिन आन्दोलनको नयाँ कडी,हरेक व्यवहार वर्गीय आत्मबोधको प्रतिबिम्ब बनोस्।
उहाँ विचलित होइन, प्रतिबद्ध छौँ। हामी चुप होइन,सङ्गठित छौँ। यही हो—साँचो सामाजिक परिवर्तनको चेतनाशील यात्रा।
लेखक : प्रवासी नेपाली मञ्च कतारका उपाध्यक्ष टीका कार्की हुन ।